कनकाई-प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सत्ता गठबन्धन आगामी २०८४ सालको निर्वाचनसम्म अटुट रहने दाबी गर्नु भएको छ ।
उहाँले नेकपा एमाले र नेपाली कांग्रेस बीचको सहयात्रालाई ‘सिमेन्टेड’ को संज्ञा दिँदै यसको स्थायित्वमा शंका नगर्न सबैलाई आग्रह गर्नुभयो ।
शनिबार आफ्नो गृह जिल्ला झापाको कनकाई नगरपालिकामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘चुनावसम्म सँगै जाने हाम्रो दृढ सहमति छ । यो सरकार आज वा भोलि ढल्छ भनेर उफ्रिनेहरू आफैँ गलेर गए, तर गठबन्धन टसमस भएको छैन ।’
कांग्रेस सभापति शेरबहादुर देउवासँगको आफ्नो पुरानो मित्रताको स्मरण गर्दै प्रधानमन्त्री ओलीले ३१ सालमा जेलमा हुँदादेखि नै चिनजान भएको बताउनु भयो ।
‘हामीबीच ७ बुँदे जे सहमति भएको छ, त्यो अक्षरशः पालना हुन्छ’, उहाँले विश्वास दिलाउँदै भन्नुभयो, ‘म पनि कुरा फेर्दिनँ, शेरबहादुरजीले पनि कुरा फेर्नुहुन्न । यो गठबन्धन चट्टान जस्तै बलियो छ ।’
सरकार विरोधी गतिविधिप्रति लक्षित गर्दै प्रधानमन्त्रीले सडकमा पाँच-सात हजार मान्छेले जुलुस निकाल्दैमा जननिर्वाचित सरकार परिवर्तन नहुने चेतावनी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘सत्ताबाट खेदिएका वंश परम्पराबाट चल्ने शक्तिहरूको पुनरागमन अब असम्भव छ । देश विकास र समृद्धिको बाटोमा अघि बढिसक्यो ।’
प्रधानमन्त्री ओलीले मुलुकको आर्थिक विकास र समृद्धिको लक्ष्य हासिल गर्न तथा लोकतन्त्रको रक्षाका लागि पनि दुई ठूला दल एक ठाउँमा उभिनु परेको प्रष्ट पार्नुभयो ।














