भद्रपुर-झापाको बाह्रदशी गाउँपालिकामा आज दिउँसो भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । मोटरसाइकल र स्कुटर एक आपसमा ठोक्किँदा दुवै साधनका चालकको ज्यान गएको हो ।
घटनामा एक महिला र एक बालक गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार, बाह्रदशी गाउँपालिका-१ खैरबारीस्थित भित्री सडक खण्डमा दिउँसो ३:४० बजे उक्त दुर्घटना भएको हो ।
राजगढबाट कुटीतर्फ जाँदै गरेको BR37AZ 6440 नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको प्र.१-०१-०१६ प ९२७० नम्बरको स्कुटर एकआपसमा ठोक्किएका थिए ।
दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल र स्कुटरका चालकलाई उपचारका लागि तत्काल प्रादेशिक अस्पताल, भद्रपुर लगिएको थियो ।
तर, अस्पतालले दुवैलाई साँझ ४:४० बजे मृत घोषणा गरेको प्रहरीले जनाएको छ । मृतकमध्ये एक जनाको मात्रै पहिचान खुलेको छ । उनी कचनकवल गाउँपालिका-३ का ६० वर्षीय श्रीप्रसाद राजवंशी हुन् ।
दुर्घटनामा स्कुटरको पछाडि सवार उनकी बुहारी २७ वर्षीया उर्मिला राजवंशी र नाति आयुष राजवंशीको उपचार भइरहेको छ।














