२१ कार्तिक २०८२, बिहिबार | Thu Nov 6 2025

११ महिनामा १५ खर्ब ३२ अर्ब रेमिट्यान्स भित्रियो



काठमाडौँ-चालु आर्थिक वर्षको पहिलो ११ महिनामा नेपाल भित्रिने रेमिट्यान्स (विप्रेषण) आप्रवाहमा उत्साहजनक वृद्धि कायम रहेको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार जेठ मसान्तसम्ममा कुल १५ खर्ब ३२ अर्ब ९३ करोड रुपैयाँ रेमिट्यान्स मुलुक भित्रिएको हो ।

यो रकम गत वर्षको सोही अवधिको तुलनामा १५.५ प्रतिशतले बढी हो । यद्यपि, गत वर्षको यही अवधिमा रेमिट्यान्स १७.२ प्रतिशतको उच्च दरले बढेको थियो ।

तथ्याङ्क अनुसार, जेठ महिनामा मात्रै १ खर्ब ७६ अर्ब ३२ करोड रुपैयाँ रेमिट्यान्स आएको छ । अघिल्लो वर्षको जेठ महिनामा यस्तो आप्रवाह १ खर्ब २८ अर्ब ९१ करोड रुपैयाँमा सीमित थियो ।

अमेरिकी डलरमा मूल्यांकन गर्दा पनि रेमिट्यान्स आप्रवाह १२.७ प्रतिशतले बढेर ११ अर्ब २५ करोड डलर पुगेको छ । गत वर्ष यस्तो वृद्धिदर १५.२ प्रतिशत रहेको थियो ।

रेमिट्यान्स वृद्धिसँगै वैदेशिक रोजगारीमा जाने नेपालीको संख्यामा पनि बढोत्तरी देखिएको छ । समीक्षा अवधिमा नयाँ श्रम स्वीकृति लिनेको संख्या ४ लाख ५२ हजार ३२४ पुगेको छ ।

श्रम स्वीकृति नवीकरण गर्नेको संख्या ३ लाख ८ हजार ६७ रहेको छ । गत वर्षको सोही अवधिमा याे संख्या क्रमशः ४ लाख २१ हजार ३५६ र २ लाख ६१ हजार २१० थियाे ।

,

प्रकाशित मिति : २४ असार २०८२, मंगलबार ००:००  ६ : ५९ बजे