काठमाडौं-तिब्बतमा भएको भीषण वर्षापछि रसुवाको त्रिशूली नदीमा आएको विनाशकारी बाढी र त्यसले पुर्याएको जनधनको क्षतिप्रति गम्भीर हुँदै प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना पूर्वनिर्धारित कार्यक्रमहरू स्थगित गर्नु भएको छ। उहाँले सम्पूर्ण ध्यान बाढी प्रभावित क्षेत्रको उद्धार, राहत र समन्वयमा केन्द्रित गर्नुभएको हो ।
सामाजिक सञ्जाल फेसबुकमार्फत एक सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले सरकार बाढी प्रभावितहरूको उद्धारका लागि युद्धस्तरमा खटिएको बताउनु भएको छ । “तिब्बतको सीमावर्ती क्षेत्रमा भएको भारी वर्षाका कारण त्रिशूली नदीमा आएको बाढीबाट प्रभावितलाई उद्धार गर्न सरकार युद्धस्तरमा लागेको छ,” उहाँले भन्नु भएको छ ।
बाढीका कारण केही नागरिकले ज्यान गुमाएको र केही बेपत्ता भएको दुःखद खबर आएको उल्लेख गर्दै प्रधानमन्त्रीले यसबाट ठूलो भौतिक क्षतिसमेत भएको बताउनु भयो । उहाँले बाढीमा ज्यान गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै विपद्को पीडामा परेका नागरिकहरूप्रति गहिरो सहानुभूति प्रकट गर्नु भएको छ ।
यस दुःखद घडीमा आफूले अत्यावश्यकबाहेक अन्य कार्यक्रमहरू स्थगित गरेको जानकारी दिँदै प्रधानमन्त्री ओलीले उद्धार कार्यको प्रत्यक्ष निगरानी गरिरहेको बताउनु भयो । “प्रभावित क्षेत्रमा भइरहेको उद्धारकार्यबारे सुरक्षा निकायसँग नियमित रिपोर्टिङ लिइरहेको छु,” उहाँले लेख्नु भएको छ, “विपद् सम्भावित क्षेत्रमा आपतकालीन सहायता उपलब्ध गराउन तीव्र समन्वय गरिएको छ ।”
प्रधानमन्त्री ओलीले सरकारी प्रयासमा कुनै कमी हुन नदिन सम्बन्धित सबै निकायलाई कडा निर्देशन दिएको समेत स्पष्ट पार्नुभएको छ । साथै, उहाँले सरकारी निकायहरूले गरिरहेको उद्धार तथा राहतको काममा सबै पक्षबाट सहयोगको अपेक्षा गर्दै विपद्को सामना गर्न एकजुट हुन अपिल गर्नुभएको छ ।














