७ माघ २०८२, मंगलबार | Tue Jan 20 2026

बिरामी बालकको उपचारका लागि विदेशबाट आर्थिक सहयोग



बिर्तामोड-झापाका ३० महिने बालक अनमोल कुमालको कलेजो र आन्द्राको गम्भीर उपचारका लागि ‘अनमोल कुमाल बचाउ अभियान’ मार्फत विदेशबाट संकलित १ लाख ४६ हजार ३२९ रुपैयाँ उनको परिवारलाई हस्तान्तरण गरिएको छ।

आर्थिक अवस्था अत्यन्तै कमजोर रहेकाले बालकको हेरचाह र उपचारको जिम्मा लिएका उनका हजुरबुवा टंकबहादुर खत्रीले अहिलेसम्म उपचारमा करिब २८ लाख रुपैयाँ खर्च भइसकेको र आफ्नो जायजेथा सकिएको पीडा व्यक्त गर्नुभयो ।

उहाँका अनुसार, चिकित्सकहरूले नेपालमा उपचारको सम्भावना न्यून रहेको र भारतमा उपचार गराउन करिब २५ लाख भारतीय रुपैयाँ लाग्ने बताएका छन् ।

अभियानका सक्रिय सदस्य विमल भारतीले विदेशमा रहँदा आफ्नो खर्च कटौती गरेरै भएपनि मातृभूमिको दुःखमा साथ दिएको बताउनुभयो। उहाँले भन्नुभयो, “पराइको भुमिमा सहज त कदापि छैन तर पनि आफ्नो देश र समाज प्रतिको दायित्व र माया सदैव रहन्छ।”

रकम हस्तान्तरण कार्यक्रममा स्थानीय पूर्व वडाध्यक्ष ध्यानबहादुर भारतीले विदेशबाट प्राप्त सहयोगको प्रशंसा गर्दै अब गाउँघरमा पनि यस्तै अभियान चलाउनुपर्नेमा जोड दिनुभयो ।

यो सहयोगले परिवारलाई केही राहत दिए पनि उपचारको ठूलो खर्च जुटाउन बाँकी रहेकाले परिवारले थप सहयोगको अपिल गरेको छ।

प्रकाशित मिति : १ असार २०८२, आइतबार ००:००  ६ : ३५ बजे