बिराटनगर– बचतकर्ताको रकम अपचलनको जालो तोड्न कोशी प्रदेश सरकार कठोर बन्ने सङ्केत देखिएको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सहकारीको नाममा सर्वसाधारणको पसिनाको कमाईमाथि ब्रह्मलुट मच्चाउने जोकोहीलाई पनि नछाड्ने उद्घोष गर्नुभएको हो ।
उहाँले स्पष्ट पार्नुभयो, “सहकारीको रकम हिनामिना गर्नेहरूलाई कुनै पनि बहानामा छुट हुने छैन, निर्ममताका साथ कानुनी कठघरामा उभ्याइनेछ ।”
विराटनगरमा आज आयोजित “सहकारी ऐन र कार्यान्वयनका चुनौती” विषयक एक महत्वपूर्ण कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिलाई कुनै पनि किसिमको बाह्य दबाब वा प्रभावमा नपरी निष्पक्ष रूपमा छानबिन अघि बढाउन कडा निर्देशन दिनुभयो ।
उहाँले सहकारीका सदस्यहरूको गाँस काटेर जम्मा गरेको रकम अपचलन गर्ने तत्वहरूमाथि सरकारले कठोरभन्दा कठोर कदम चाल्न कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
मुख्यमन्त्री कार्कीले सहकारीको मूल मर्म र सिद्धान्तभन्दा बाहिर गएर सञ्चालन भएका संस्थाहरू आज नभए भोलि अवश्य समस्यामा पर्ने तितो यथार्थ औंल्याउनुभयो ।
“थोरै थोरै बचत गरेर भविष्यमा केही गरौँला भन्ने सपना बोकेका सर्वसाधारण आज बिचल्लीमा परेर सडकमा आउनुपर्ने अवस्था सिर्जना भएको छ,” उहाँले भन्नुभयो, “उनीहरूलाई न्याय दिलाउनु सरकारको पहिलो कर्तव्य हो र हामी यसमा दृढ छौं ।”















