झापा– झापा उद्योग वाणिज्य संघले भारतको विहार राज्यसँग जोडिएको भद्रपुर नाका अविलम्व खुलाउन सरकारको ध्यानाकर्षण गराएको छ । झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनामार्फत बिहीवार प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाउँदै संघले भद्रपुर नाका खुलाउन माग गरेको हो ।
अविलम्व नाका खोलेर व्यापार सहजीकरणमा सरकारका तर्फबाट सहयोग नभए दवावमूलक कार्यक्रम सञ्चालन गर्ने चेतावनी संघले दिएको छ । काँकडभिट्टा लगायतका अरु नाका खुलिसक्दा पनि भद्रपर नाका बन्द राखिएकाले सरकारको ध्यानाकर्षण गराइएको झापा उद्योग वाणिज्य संघका अध्यक्ष नवराज पनेरुले बताए ।
भद्रपुर नाका डेढवर्षदेखि बन्द छ । ‘नाका बन्द रहँदा आवतजावत र सीमावर्ती व्यापार–व्यवसायमा गम्भीर असर परिरहेको छ’, अध्यक्ष पनेरुले भने । नेपाल भारत सीममा मेची पुल निर्माण भएपछि भद्रपुर नाकामा व्यवसायिक चहलपहल बढेको थियो । तर, कोरोना संक्रमणयता नाका बन्द रहँदै आएको छ ।
दुवैतर्फको एप्रोच सडकलाई पूर्णता दिएर भद्रपुर भन्सारलाई थप सुविधायुक्त बनाउनुपर्ने आवश्यकता देखिएको अध्यक्ष पनेरुले बताए । ‘भारतीय सीमा बजारबाट खुद्रा गुणस्तरीय सामग्री छनौट र खरिद गर्न व्यवसायी आफैँ जानु पर्ने भएकाले नाकालाई सहज बनाउनु पर्ने आवश्यकता देखिएको छ’, अध्यक्ष पनेरुले भने, ‘आवश्यक औषधोपचारका लागि सहज रुपमा आउन–जान पाउने अवस्था पनि छैन् ।’