२२ भाद्र २०८३, सोमबार | Mon Sep 7 2026

शिक्षा सहकारीको इकाइगत साधारणसभा सुरु



बिर्तामोड– झापाको बिर्तामोड-४ मा मुख्य कार्यालय रहेको शिक्षा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको १४ औँ वार्षिक साधारणसभाअन्तर्गत इकाइगत सभा सुरु भएको छ । सोमबार अर्जुनधारा, शनिश्चरे र खुदुनाबारीलाई समेटेर इकाइ नम्बर १ को सभा सम्पन्न भएको हो ।

संस्थाका अध्यक्ष सुब्रत न्यौपानेको अध्यक्षता तथा सल्लाहकार संयोजक सावित्राकुमारी लिम्बूको प्रमुख आतिथ्यमा भएको सभामा तीन सदस्यलाई उत्कृष्ट कारोबारका आधारमा सम्मान गरिएको छ ।

उत्कृष्ट आवधिक बचतकर्ताका रूपमा भेषराज पनेरु, उत्कृष्ट शिक्षा बचतकर्ताका रूपमा अंकित आचार्य र उत्कृष्ट कारोबारकर्ताका रूपमा लीलादेवी बराल सम्मानित भए ।

सभामा अध्यक्ष न्यौपानेले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै संस्थाको शेयर पुँजी ३ करोड ५१ लाख ७४ हजार १ सय रुपैयाँ पुगेको जानकारी दिए ।

उनका अनुसार संस्थाको कोष हिसाब २ करोड ३७ लाख ५ हजार ४ सय रुपैयाँ, बचत संकलन २२ करोड ५१ लाख २५ हजार ५ सय ४८ रुपैयाँ र लगानीमा रहेको रकम १७ करोड ६१ लाख ७८ हजार ३ सय ४४ रुपैयाँ छ ।

संस्थाले चालु आर्थिक वर्ष २०८३/८४ मा बचत संकलन २५ करोड रुपैयाँ र ऋण लगानी २० करोड ६० लाख ७५ हजार रुपैयाँ पुर्‍याउने लक्ष्य लिएको छ । यस अवधिमा ६ सय १२ जना नयाँ सदस्य थप्ने लक्ष्यसमेत राखिएको अध्यक्ष न्यौपानेले बताए ।

लेखा समिति संयोजक सूर्यकुमार खतिवडाले लेखा समितिको प्रतिवेदन प्रस्तुत गर्दै शेयर पुँजी र बचत संकलनमा निरन्तर वृद्धि भइरहेकाले संस्था आर्थिक रूपमा थप सबल बन्दै गएको बताए ।

आगामी दिनमा सदस्यको आवश्यकता र अपेक्षालाई केन्द्रमा राखेर उत्पादनशील क्षेत्रमा लगानी विस्तार गर्ने, सदस्यको आर्थिक क्षमता अभिवृद्धिमा सहयोग गर्ने र वित्तीय अनुशासनलाई थप मजबुत बनाउने उनले बताए ।

ऋण उपसमिति संयोजकसमेत रहेका उपाध्यक्ष हेमराज मिश्रका अनुसार संस्थाले ६ सय ९२ जना ऋणी सदस्यलाई १८ करोड ४७ लाख २५ हजार ९ सय ५६ रुपैयाँ ऋण लगानी गरेको छ।

उक्त लगानीबाट २ करोड २६ लाख ५९ हजार ९ सय ६८ रुपैयाँ ब्याज आम्दानी भएको उनले जानकारी दिए ।

शिक्षा बहुउद्देश्यीय सहकारीले सदस्यको बचत तथा लगानीसँगै शिक्षा क्षेत्रमा समेत काम गर्दै आएको छ । संस्थाको व्यवस्थापनमा बिर्तामोड-२ मा शिक्षा शिकोप निकेतन विद्यालय सञ्चालनमा छ। विद्यालय सञ्चालनका लागि संस्थाको आफ्नै १० कठ्ठा जग्गासमेत रहेको जनाइएको छ ।

इकाइगत सभामा उपाध्यक्ष मिश्रले स्वागत गरेका थिए भने सचिव युवराज निरौलाले सञ्चालन गरेका थिए । कार्यक्रममा सञ्चालक समिति सदस्य चिजा राई, तारादेवी गौतम, रुपा कोइराला, लक्ष्मीप्रसाद घिमिरे, अशोक गिरी र रोहित काफ्ले तथा लेखा समिति सदस्य लक्ष्मी देवानसहित व्यवस्थापक तीर्थराज तिम्सिनासहित कर्मचारी र शेयर सदस्यको उपस्थिति थियो।

प्रकाशित मिति : २२ भाद्र २०८३, सोमबार ००:००  ४ : ३० बजे