८ बैशाख २०८३, मंगलबार | Tue Apr 21 2026

सहकारीका ऋणीलाई १५ दिनभित्र ऋण तिर्न निर्देशन : नतिरे सम्पत्ति र बैंक खाता रोकिने



झापा-भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गत समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त सहकारी संस्थाका ऋणीलाई १५ दिनभित्र ऋण चुक्ता गर्न निर्देशन दिएको छ।

समितिले मंगलबार सूचना जारी गर्दै सहकारीबाट ऋण लिएका सञ्चालक, ऋणी सदस्य, व्यवस्थापक, कर्मचारी तथा जमानीकर्तालाई १५ दिनभित्र कार्यालयमा सम्पर्क गरी साँवा, ब्याज र हर्जानासहितको रकम बुझाउन भनेको हो।

समितिले तोकिएको अवधिभित्र ऋण नतिरे ऋणी र जमानीकर्ताको नाम सार्वजनिक गर्नुका साथै उनीहरूको सम्पत्ति तथा बैंक खाता रोक्का गरिने जनाएको छ। सार्वजनिक सेवा सुविधा रोक्का गर्ने र कर्जा लिँदा राखिएको धितोसमेत लिलाम बिक्री गरिने सूचनामा उल्लेख छ।

समितिका अनुसार विभिन्न माध्यमबाट पटक-पटक जानकारी गराउँदा पनि ऋणीहरूले रकम नबुझाएकाले अन्तिम पटक सूचना जारी गरिएको हो।

सरकारले मंगलबार मात्रै समस्याग्रस्त सहकारी व्यवस्थापन समितिलाई पूर्णता दिएको छ। मन्त्रिपरिषद् बैठकले डिल्लीराज आचार्यलाई अध्यक्ष तथा नवराज सिम्खडा र रोशनबहादुर शाक्यलाई सदस्य नियुक्त गरेको थियो।

मन्त्रालयले समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गर्न ऋण असुलीलाई तीव्र बनाउने तयारी गरेको जनाएको छ।

प्रकाशित मिति : ८ बैशाख २०८३, मंगलबार ००:००  ७ : ५३ बजे