झापा- पछिल्लो समय केही सञ्चारमाध्यम र पत्रकारबाट तथ्यहीन, अपुष्ट र पत्याउनै नसकिने सामग्री सार्वजनिक भइरहेकाेप्रति दमक नगरपालिकाका मेयर राम थापाले असन्तुष्टि जनाएका छन् । उनले यस्ता सामग्रीले पत्रकारिताकाे विश्वसनीयता र सामाजिक उत्तरदायित्वमाथि प्रश्न उठाइरहेको बताएका हुन् ।
नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष सुब्रत न्यौपानेको नेतृत्वमा गएको टोलीसँगको भेटमा मेयर थापाले सन्तुलित, विश्वसनीय र जवाफदेही पत्रकारिता अहिलेको सबैभन्दा ठूलो आवश्यकता भएको बताए । उनले पत्रकारहरूले व्यावसायिक धर्म पालना, तथ्य पुष्टि र सार्वजनिक उत्तरदायित्वलाई केन्द्रमा राखेर काम गर्नुपर्नेमा जोड दिए ।

‘पत्याउनै नसकिने खालका अनर्गल सामग्रीले पत्रकारिताप्रतिको जनविश्वास कमजोर बनाइरहेको छ’, उनले भने, ‘यसतर्फ महासंघले पनि गम्भीर ध्यान दिनुपर्छ ।’
मेयर थापाले प्रमाण, सन्तुलन र सत्यतामाथि आधारित समाचार नै लोकतान्त्रिक समाजका लागि आवश्यक हुने उल्लेख गर्दै पत्रकारितामा विश्वास पुनःस्थापना गर्न गुणस्तरीय सामग्री उत्पादन अपरिहार्य भएको धारणा राखे ।
दमकमा भएको उक्त भेटघाटमा महासंघ झापाका सल्लाहकार तथा पूर्वसचिव डिकेश लामा, उपाध्यक्ष विनिशा शर्मा, सचिव राजु पाठक, सहसचिव तिलक योन्जन तथा सदस्यहरू सुदीप अधिकारी, भूमिराज पराजुली र मनकुमार गदाल सहभागी थिए ।
महासङ्घको टोलीले स्थानीय सरकारसँग गर्न सकिने सञ्चार सहकार्यका विषयमा नगर प्रमुख थापासँग आफ्नो दृष्टिकोण राखेको छ । पत्रकारहरूको सीप तथा क्षमताको विकास र आचारसंहिता पालनामा महासङ्घले जोड दिँदै आएको उपाध्यक्ष न्यौपानेले बताए ।















