भद्रपुर-झापाको सदरमुकाम भद्रपुरसँग सीमा जोडिएको भारतको गलगलियामा निःशुल्क आँखा शिविर सञ्चालन गरिएको छ ।
नेपाल-भारत मैत्री संघ झापा र भारत-नेपाल मैत्री संघ गलगलियाको संयुक्त आयोजनामा तथा बिर्तामोडस्थित मेची आँखा अस्पतालको प्राविधिक सहयोगमा बुधबार शिविर आयोजना गरिएको हो ।
नेपाल-भारत मैत्री संघ झापाका अध्यक्ष प्रदीपमणि रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा बिहारका विधायक गोपाल अग्रवाल प्रमुख अतिथि र संघका पूर्व केन्द्रीय अध्यक्ष ओमप्रकाश सरावगी विशिष्ट अतिथि रहेका थिए । उनीहरूले संयुक्त रूपमा शिविरको उद्घाटन गरेका थिए ।
शिविरमा गलगलिया र आसपासका क्षेत्रका ५५० भन्दा बढी बिरामीको आँखा परीक्षण गरिएको थियो । त्यसमध्ये ८० जनामा मोतियाबिन्दुको शल्यक्रिया गरिएको अध्यक्ष रेग्मीले जानकारी दिए ।
कार्यक्रममा भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेल, वडा नं. ८ का वडाध्यक्ष, नेपाल–भारत मैत्री संघ कोशी प्रदेशका खेलकुद संयोजक गौरव सुब्बा, झापा उद्योग संघका अध्यक्ष यमबहादुर श्रेष्ठ, भद्रपुर झापा गोल्डकपका अध्यक्ष दीपेश ढकाल लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रमको सञ्चालन भारत-नेपाल मैत्री संघ गलगलियाका गणेश मुखियाले गरेका थिए ।















