बिर्तामोड- झापाको अर्जुनधारा नगरपालिका-११ बुट्टाबारीस्थित सिरक गोदाममा आगलागी हुँदा करिब ६० लाख रुपैयाँ बराबरको क्षति भएको छ ।
बुधबार दिउँसो करिब १२ बजे नुर मोहमदको गोदाममा अचानक आगलागी भएको थियो । आगो नियन्त्रणका लागि इलाका प्रहरी कार्यालय अनारमनी, नेपाली सेना र सशस्त्र प्रहरी बल नेपालको टोली परिचालन गरिएको थियो ।
बिर्तामोड नगरपालिका, मेची, भद्रपुर, दमक, शिवसताक्षी नगरपालिका तथा कमल गाउँपालिकाका दमकलसहित स्थानीयवासीको सहयोगमा दिउँसो करिब २:२५ बजे आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
आगलागीबाट टिनको छानो र बेरासहितको गोदाम, भित्र रहेका रुवा (कपास) बनाउने मेसिन र कच्चा पदार्थ पूर्ण रूपमा जलेर नष्ट भएको छ । घटनामा मानवीय तथा चौपाया क्षति नभएको प्रहरीले जनाएको छ ।
उक्त गोदाम रौतहट घर भई हाल बिर्तामोड-५ मा बसोबास गर्दै आएकी ५६ वर्षीया सलमा खातुनको नाममा रहेको र जग्गा भाडामा लिएर ‘बिर्तामोड कपास प्रशोधन उद्योग’ सञ्चालन हुँदै आएको जनाइएको छ ।
आगलागीको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।















