२६ चैत्र २०८२, बिहिबार | Fri Apr 10 2026

शैक्षिकसत्र सार्दा विद्यालय अलमलमा : क्यालेन्डर मिलाउन चुनौती



काठमाडौं- सरकारले १५ वैशाखबाट नयाँ शैक्षिकसत्र सुरु गर्ने निर्णय गरेपछि विद्यालयहरू अन्योलमा परेका छन् । यसअघि हरेक वर्ष १ वैशाखबाट सुरु हुने शैक्षिकसत्र यसपटक सारिँदा वार्षिक शैक्षिक क्यालेन्डर कार्यान्वयन प्रभावित हुने चिन्ता देखिएको छ ।

२२ चैतको मन्त्रिपरिषद् बैठकले पेट्रोलियम पदार्थको आपूर्तिमा देखिएको असहजतालाई कारण देखाउँदै शैक्षिकसत्र सार्ने निर्णय गरेको थियो । शिक्षा मन्त्रालय स्रोतका अनुसार सोही कारणले समय परिवर्तन गरिएको हो ।

यससँगै शनिबार र आइतबार दुवै दिन सार्वजनिक बिदा दिने निर्णयले क्यालेन्डर व्यवस्थापन थप जटिल बनेको छ। मन्त्रालयले क्रेडिट आवर मिलाउन स्थानीय बिदा कटौती गर्ने र शुक्रबार पूरा समय पढाउने विकल्पमा छलफल गरिरहेको जनाएको छ ।

यद्यपि पाठ्यक्रम विकास केन्द्रले भने क्यालेन्डर मिलाएर क्रेडिट आवर कायम गर्न सकिने बताएको छ। केन्द्रका महानिर्देशक युवराज पौडेलका अनुसार २०८३ वैशाख १५ देखि सुरु हुने शैक्षिकसत्र २०८४ वैशाखसम्म सञ्चालन गर्दा पढाइ प्रभावित हुँदैन ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले पनि सोही दिनबाट विद्यार्थी भर्ना प्रक्रिया सुरु गर्ने तयारी गरेको जनाएको छ। निर्णय चाँडै सार्वजनिक गरिने जनाइएको छ ।

यता, जनक शिक्षा सामग्री केन्द्रले नयाँ शैक्षिकसत्रका लागि १ करोड ७० लाख पाठ्यपुस्तक छपाइसकेको र समयमै वितरण हुने दाबी गरेको छ । प्रादेशिक कार्यालयमार्फत आधिकारिक बिक्रेताले स्थानीय तहसम्म पुस्तक पुर्‍याउने व्यवस्था मिलाइएको केन्द्रले जनाएको छ ।

प्रकाशित मिति : २५ चैत्र २०८२, बुधबार ००:००  ११ : ०९ बजे