२६ चैत्र २०८२, बिहिबार | Fri Apr 10 2026

पेट्रोलियम सङ्कट : सवारीमा जोरबिजोर लागू गर्ने सरकारको संकेत



काठमाडौँ– पेट्रोलियम पदार्थको आपूर्तिमा समस्या देखिन सक्ने संकेतबीच सरकारले खपत नियन्त्रण गर्न थप कदम चाल्ने भएको छ । आवश्यक परे सवारी साधनमा जोरबिजोर प्रणाली लागू गर्न सकिने सरकारको भनाइ छ ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले ऊर्जा बचतका लागि विभिन्न कदम चालिएको जानकारी दिइन् ।

उनका अनुसार थोक बिक्री नियन्त्रण र उच्च पदस्थ अधिकारीहरूको इन्धन सुविधा कटौती गरिसकिएको छ । ‘आवश्यक परे जोरबिजोर प्रणाली पनि लागू गर्न सकिन्छ,’ उनले भनिन्, ‘इन्धन खपत घटाउन ‘वर्क फ्रम होम’ र विद्युतीय सवारीसाधनको प्रयोग बढाउन सरकारको आग्रह छ ।’

सरकारले दीर्घकालीन रूपमा सवारी साधन रूपान्तरणतर्फ पनि काम अघि बढाएको जनाएको छ । इथानोल मिसावटसम्बन्धी नीति तयारीमा रहेको र विद्युतीय सवारी पूर्वाधार विस्तारमा जोड दिइएको मन्त्री रावलले बताइन् ।

‘दीर्घकालीन गाडी रूपान्तरणको कानुनी व्यवस्था अघि बढाइएको छ,’ उनले भनिन्, ‘ईभी पूर्वाधार विस्तारका लागि सरकार प्रतिबद्ध छ।’

उनले सरकार पारदर्शी रहेको दाबी गर्दै ऊर्जा बचतमा नागरिकलाई संयम अपनाउन आग्रह गरिन् । ‘सरकारले सत्य लुकाउँदैन, तर जनताको पीडा पनि बुझ्छ,’ उनले भनिन्, ‘ऊर्जा बचत गरौं, संयमित बनौं ।’

प्रकाशित मिति : २४ चैत्र २०८२, मंगलबार ००:००  २ : ३९ बजे