२६ चैत्र २०८२, बिहिबार | Fri Apr 10 2026

निर्वाचनपछि ‘जरा’ खोज्दै कांग्रेस



काठमाडौँनेपाली कांग्रेसले पछिल्लो निर्वाचन परिणाम अपेक्षाअनुसार नआएपछि संगठनभित्रै ‘जरा’ खोज्ने अभियान सुरु गर्ने भएको छ। पार्टीले वैशाख १ गतेदेखि एकमहिने ‘जरा’ अभियान सञ्चालन गर्दै देशभरका ७७ जिल्लामा केन्द्रीय प्रतिनिधि खटाउने निर्णय गरेको हो।

पार्टी प्रवक्ता देवराज चालिसेका अनुसार अभियानको मुख्य उद्देश्य निर्वाचन परिणामको मिहिन समीक्षा गर्दै तल्लो तहसम्म संगठनको वास्तविक अवस्था बुझ्नु हो। ‘निर्वाचन भनेको संगठनको शक्ति मापन गर्ने माध्यम हो। अपेक्षित परिणाम किन आएन भन्नेमा केन्द्रित भएर छलफल हुन्छ’ उनले भने।

अभियानमार्फत जिल्ला हुँदै वडास्तरसम्म पुगेर कार्यकर्ताको मनोबल, संगठनको सक्रियता र कमजोरीका कारण पहिचान गरिने कांग्रेसले जनाएको छ। यस क्रममा जनतासँग प्रत्यक्ष संवाद, युवामाझ कार्यक्रम तथा पार्टीका शुभेच्छुकसँग अन्तरक्रिया पनि गरिनेछ।

चैत २१ मा सानेपास्थित केन्द्रीय कार्यालयमा केन्द्रीय प्रतिनिधिका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न भइसकेको छ। कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले १५औँ महाधिवेशनको कार्यतालिकाअनुसार अभियान अघि बढाइएको जानकारी दिए।

अभियानसँगै कांग्रेसले सदस्यता अद्यावधिकलाई पनि जोड दिएको छ। वैशाख महिनाभर अद्यावधिक गरिएका सदस्यले मात्र पार्टीको ‘आईडी’ पाउने र आगामी महाधिवेशनमा भाग लिन पाउने व्यवस्था गरिएको छ।

निर्वाचनपछि देखिएको असन्तुष्टि र निष्क्रियता हटाउँदै संगठन पुनः सक्रिय बनाउने लक्ष्यसहित कांग्रेसले ‘जरा’ अभियान अघि सारेको हो।

प्रकाशित मिति : २२ चैत्र २०८२, आइतबार ००:००  ८ : ०५ बजे