२६ चैत्र २०८२, बिहिबार | Thu Apr 9 2026

दुई दिने बिदामा ‘घुमफिर नगर्नू’ : आयल निगम



काठमाडौँ– सरकारले शनिबार र आइतबार सार्वजनिक तथा निजी विद्यालय र सरकारी कार्यालयमा दुई दिन साप्ताहिक बिदा दिने निर्णय गरेसँगै नेपाल आयल निगमले इन्धन खपत बढ्न सक्ने भन्दै सतर्कता अपनाउन उपभोक्तालाई आग्रह गरेको छ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सरकारी कार्यालय र निजी तथा सामुदायिक विद्यालयमा दुई दिन बिदा दिने निर्णय गरेको थियो। सो व्यवस्थापछि बिदाको समयमा अनावश्यक यात्रा बढेर इन्धन खपत उच्च हुन सक्ने भन्दै निगमले चासो व्यक्त गरेको हो।

निगमका प्रवक्ता मनोज ठाकुर ले बिदाको अवसरमा लामो दूरीका यात्रा नगर्न आग्रह गरे। ‘बिदा पायौँ भनेर गाडी निकालेर घुम्न जानुभएन। जसरी भए पनि इन्धन खपत कम गर्ने हो, यसमा जनताको पनि योगदान चाहिन्छ’ उनले भने।

निगमका अनुसार हाल पेट्रोलमा प्रतिलिटर ३४ रुपैयाँ ३६ पैसा घाटा छ भने डिजेलमा प्रतिलिटर १२० रुपैयाँ ५४ पैसा घाटा रहेको छ। एलपी ग्यासमा प्रतिसिलिन्डर ४१६ रुपैयाँ ३७ पैसा घाटा व्यहोर्नुपरेको निगमले जनाएको छ।

इन्धनमा बढ्दो घाटाबीच खपत नियन्त्रणमार्फत दबाब कम गर्ने रणनीतिमा निगम लागेको छ।

प्रकाशित मिति : २२ चैत्र २०८२, आइतबार ००:००  ७ : ५८ बजे