२६ चैत्र २०८२, बिहिबार | Fri Apr 10 2026

महिला पत्रकार लक्षित क्यान्सर सचेतना



बिर्तामोड– नारी सञ्चार गृह झापा र पूर्वाञ्चल क्यान्सर अस्पतालको संयुक्त आयोजनामा महिला पत्रकार लक्षित क्यान्सर सचेतना तथा पाठेघरको मुखको निःशुल्क क्यान्सर परीक्षण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा ३० जना महिला पत्रकारको स्क्रिनिङ गरिएको छ।

कार्यक्रममा क्यान्सर रोगको समयमै पहिचान र उपचारको महत्वबारे जोड दिइएको थियो। आयोजकका अनुसार यसै साताभित्र अन्य पत्रकारहरूको समेत निःशुल्क परीक्षण गरिनेछ। साथै, स्तन क्यान्सर जाँचमा ५० प्रतिशत छुट दिने सहमति अस्पतालसँग भएको छ।

कार्यक्रमकी प्रमुख अतिथि पूर्वाञ्चल क्यान्सर अस्पतालकी निर्देशक डा. अन्जली कार्की प्रसाईंले महिला पत्रकारहरूको स्वास्थ्य जाँचमा सहयोग गर्न पाएकोमा खुसी व्यक्त गर्दै पत्रकारहरूसँग निरन्तर सहकार्य गर्ने बताइन्।

नेपाल पत्रकार महासंघ कोशी प्रदेशकी उपाध्यक्ष अम्बिका भण्डारीले समयमै स्वास्थ्य परीक्षण गरे क्यान्सरजस्तो जटिल रोग पनि नियन्त्रण र उपचार सम्भव हुने धारणा राखिन्।

अस्पतालका जनसम्पर्क अधिकारी प्रमिस गिरीले नारी सञ्चार गृहसँगको सहकार्यलाई थप प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता जनाए।

कार्यक्रममा डा. ज्योति भाजु लामाले पाठेघरको मुख र स्तन क्यान्सरका लक्षण, जोखिम र सावधानीबारे जानकारी दिइन् भने प्रशिक्षक प्रतिमा कार्कीले प्रारम्भिक पहिचानका उपायबारे प्रशिक्षण दिएकी थिइन्।

आयोजक संस्थाकी अध्यक्ष स्वस्तिका आचार्यले यस्ता कार्यक्रमले महिलामा स्वास्थ्य सचेतना बढाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिन्। कार्यक्रममा सहभागीहरूले क्यान्सरसम्बन्धी जानकारीसँगै निःशुल्क स्वास्थ्य परीक्षणबाट लाभ लिएका थिए।

प्रकाशित मिति : १९ चैत्र २०८२, बिहिबार ००:००  ३ : ३१ बजे