२६ चैत्र २०८२, बिहिबार | Fri Apr 10 2026

बेमौसमी वर्षाले क्षति : राहत दिन कांग्रेस झापाको माग



बिर्तामोडनेपाली कांग्रेस झापाले दुई सातायता परेको बेमौसमी वर्षाका कारण किसानले लगाएको अन्नबाली, फलफूल तथा घर–टहरामा पुगेको क्षतिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

जिल्ला सभापति देउकुमार थेवेले मंगलबार विज्ञप्ति जारी गर्दै मुख्यतः झापा, बाह्रदशी, कचनकबल, गौरीगञ्ज गाउँपालिका र शिवसताक्षी नगरपालिकामा बढी क्षति पुगेको उल्लेख गरेका छन् ।

‘किसानले लगाएको गहुँबाली उठाउनै नसक्ने अवस्था छ भने मकैबालीमा असिना पानीका कारण पूर्ण क्षति पुग्दा करोडौं लगानी डुब्ने अवस्था छ,’ विज्ञप्तिमा भनिएको छ।

हावाहुरी र वर्षाबाट भएको क्षति न्यूनीकरणका उपाय अपनाउँदै हालसम्मको क्षतिको यथार्थ मूल्यांकन गरी किसानलाई राहत उपलब्ध गराउन स्थानीय, प्रदेश र संघीय सरकारसँग माग गरिएको छ ।

आगामी खेतीको समय नजिकिँदै गएकाले किसानलाई उन्नत जातको बीउ र रासायनिक मल समयमै उपलब्ध गराउन पनि सरकारसँग जोडदार आग्रह गरिएको छ ।

प्रकाशित मिति : १७ चैत्र २०८२, मंगलबार ००:००  ९ : ०४ बजे