३० माघ २०८२, बिहिबार | Thu Feb 12 2026

झापामा हाडजाेर्नीका पाँचसय डाक्टरकाे सम्मेलन



झापा-झापामा हाडजोर्नी विशेषज्ञ चिकित्सकहरूको सम्मेलन आजदेखि सुरु हुँदैछ । नेपाल अर्थोपेडिक एसोसिएसनको ३१ औँ वार्षिक सम्मेलन झापामा सुरु हुन लागेको हो ।

माघ २९ देखि फागुन ३ गतेसम्म आयोजना गरिएको सम्मेलनमा हाडजोर्नीका १०० भन्दाबढी अन्तर्राष्ट्रिय चिकित्सकहरूको समेत सहभागिता रहने अर्थाेकाेन २०२६ आयोजक समितिका अध्यक्ष डाक्टर लक्ष्मीप्रसाद मैनालीले बताए ।

वार्षिक सम्मेलनमा नेपालबाट ४०० जना भन्दाबढी हाडजोर्नीका चिकित्सकहरू सहभागी हुनेछन् । सम्मेलन अन्तर्गत माघ २९ गते बिर्तामोडका विभिन्न अस्पतालमा प्री कन्फ्रेन्स वर्कसप सञ्चालन गरिने डाक्टर प्रेमबहादुर शाहीले बताए ।

फागुन १, २ र ३ गते झापाको धुलाबारीस्थित होटल मेची क्राउनमा अन्तर्राष्ट्रिय सेमिनारको मुख्य कार्यक्रम आयोजना गरिएको छ । कोशी प्रदेश सरकारको समेत सहयोगमा सम्मेलन हुन लागेको हो ।

आयोजक समितिका महासचिव रूपेशजंग बेलबासेका अनुसार औषधि कम्पनी, इम्प्लान्ट कम्पनी तथा अन्य व्यवसायी कम्पनीले समेत कार्यक्रमलाई सहयोग गरेका छन् । कार्यक्रममा झापामा सञ्चालित अस्पतालका सञ्चालक एवम् मेडिकल सुपरिटेन्डेन्टहरूको आतिथ्य रहनेछ ।

प्रकाशित मिति : ३० माघ २०८२, बिहिबार ००:००  ९ : ३६ बजे