१३ चैत्र २०८१, बिहिबार | Thu Mar 27 2025

नवप्रभात सहकारीद्वारा मास्क वितरण



भद्रपुर– दोस्रो लहरको कोरोना संक्रमणको उच्च जोखिममा रहेको झापामा विभिन्न संघ–संस्थाले सर्वसाधारणका लागि मास्क वितरण गर्न थालेका छन् । सर्वसाधारणलाई मास्क लगाउन प्रेरित गर्दै ट्राफिक प्रहरीले शुरु गरेको अभियानमा सामाजिक तथा वित्तीय संस्थाहरु पनि जोडिन थालेका हुन् ।

झापाको भद्रपुर–९, पारिजातचोकमा केन्द्रीय कार्यालय रहेको नवप्रभात बचत तथा ऋण सहकारी संस्थाले चारआली–केचना सडकखण्ड अन्तर्गतको पारिजातचोकमै सर्वसाधारण यात्रुहरुलाई मास्क वितरण गरेको छ ।

श्रीकृष्ण प्रणामी युवा परिषद दुवागढी चन्द्रगढीसँगको सहकार्य र ट्राफिक प्रहरीको समन्वयमा नवप्रभात सहकारीले मास्क वितरण गर्नुका साथै कोभिड–१९ रोकथाम तथा नियन्त्रण सम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गरेको हो ।

मास्क नलगाई यात्रा गरिरहेका यात्रुहरुलाई रोकेर मास्कको उपयोगिता सम्बन्धी जानकारी गराउँदै मास्क वितरण गरिएको संस्थाका व्यवस्थापक खगेन्द्र ढुंगानाले बताए ।

‘मास्कको अनिवार्य प्रयोग गरौँ, सामाजिक दूरी कायम राखौँ, कोभिड १९ बाट बचौँ र बचाऔँ’ भन्ने सन्देशसहित गरिएको कार्यक्रममा सोमबार पाँचसय थान भन्दा बढी मास्क वितरण गरिएको ढुंगानाले बताए ।

मास्क वितरण अभियानमा संस्थाका अध्यक्ष शंकर सुवेदी, श्रीकृष्ण प्रणामी युवा परिषद प्रदेश नं १ का संयोजक अनिल ढुंगाना, भद्रपुर नगरपालिका वडा नं. ९ का वडा सदस्य नूतन पौडेल लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : १ भाद्र २०७८, मंगलबार ००:००  ८ : ४४ बजे