११ फाल्गुन २०८२, सोमबार | Mon Feb 23 2026

वैदेशिक रोजगारीप्रतिको आकर्षण थप बढ्दै : यूएई नेपाली कामदारको प्रमुख रोजाइमा



काठमाडौँ -पछिल्लो समय नेपाली युवाहरूको वैदेशिक रोजगारीप्रतिको आकर्षण थप बढ्दै गएको छ । माघ महिनामा मात्रै ७० हजार ५ सय ३ नेपालीले परदेशिनका लागि श्रम अनुमति प्राप्त गरेका छन् ।

वैदेशिक रोजगार विभागको पछिल्लो तथ्याङ्कअनुसार यसरी अनुमति लिनेमा ६२ हजार १ सय ६२ पुरुष र ८ हजार ३ सय ४१ महिला रहेका छन् । गन्तव्य मुलुकका आधारमा हेर्दा माघमा संयुक्त अरब इमिरेट्स (यूएई) नेपाली कामदारको प्रमुख रोजाइमा देखिएको छ ।

यूएईका लागि १५ हजार १ सय ३७ जनाले अनुमति लिँदा साउदी अरब र कतारका लागि क्रमशः ११ हजार ५ सय ९२ र ११ हजार ५ सय ८० जनाले श्रम स्वीकृति लिएका छन् ।

मलेसिया जानेको सङ्ख्या १० हजार ३ सय ४१ रहेको छ भने युरोपेली मुलुक रोमानियाका लागि ३ हजार ९ सय ४० जनाले श्रम अनुमति पाएका छन् ।

विभागका अनुसार पहिलो पटक विदेश जान श्रम स्वीकृति लिनेको सङ्ख्या ३७ हजार ८ सय १२ पुगेको छ । चालू आर्थिक वर्षको ७ महिनामा कुल ६ लाख ६१ हजार २ सय २१ नेपाली रोजगारीका लागि विभिन्न देश पुगिसकेका छन् ।

प्रकाशित मिति : ६ फाल्गुन २०८२, बुधबार ००:००  १२ : २५ बजे