२१ बैशाख २०८१, शुक्रबार | Sat May 4 2024

‘न्यायिक अनुभव’ बुझ्न रत्ननगरको टोली बिर्तामोडमा



बिर्तामोड- बिर्तामोड नगरपालिकाको पाँचवर्षे ‘न्यायिक अनुभव’ बुझ्न चितवनको रत्ननगर नगरपालिकाको टोली सोमवार झापा आएको छ । टोलीले न्याय निरुपणमा उत्कृष्टता हासिल गरेको बिर्तामोडको न्यायिक समितिले गरेका काम, कार्य सम्पादन प्रक्रिया र शैली, मुद्दाको अभिलेखीकरण लगायतका विषयमा जानकारी लिएको छ ।

मेलमिलापकर्ता सहितको २६ सदस्यीय रत्ननगरको टोलीले न्यायिक समितिले गरेका काम, न्याय सम्पादनमा देखिएका जटिलता, गरिएका प्रयास र उपलब्धिका विषयमा बूँदागत रुपमा छलफल गरेको बिर्तामोड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिनोदकुमार न्यौपानेले बताउनु भयो ।

‘यहाँको न्याय निरुपणको अनुभवका विषयमा बुझ्न उहाँहरु आउनु भएको हो’, प्रशासकीय अधिकृत न्यौपानेले भन्नुभयो, ‘दुईवटा नगरपालिकाबीच अनुभव साटासाटले आगामी दिनमा काम गर्न अझै सजिलो आधार तयार हुन्छ ।’ टोलीमा सहभागी मेलमिलाप विज्ञ कविता अधिकारीले बिर्तामोडबाट केही सिक्ने गरी आफूहरु आएको बताउनुभयो ।

‘बिर्तामोडले गरेको असल अभ्यासलाई हामी रत्ननगरमा लगेर लागू गर्न चाहन्छौँ’, अधिकारीले भन्नुभयो, ‘हामीले जे सुनेका थियौँ, न्याय निरुपण पनि विधि र प्रक्रियामा रहेर गरेको पायौँ ।’ रत्ननगर नगरपालिकाकी पूर्व उपप्रमुख विमलादेवी दुवाडीले संवैधानिक प्रावधानमा देखिएका कतिपय जटिलताले न्याय सम्पादनमा कठिनाई भएको अनुभव सुनाउनुभयो ।

रत्ननगरको टोलीलाई बिर्तामोड नगरपालिकाको न्यायिक समितिको उजुरी प्रशासक टीका लामिछानेले विस्तृतरुपमा न्याय निरुपण, फस्र्याैट भएका मुद्दा, तिनको प्रकृति, वस्तुगत जटिलता, वडा तहमा मेलमिलापकर्ताले मिलाएका मुद्दा र तिनको अन्तिम प्रमाणीकरण तथा अभिलेखीकरणका विषयमा जानकारी दिनुभएको थियो ।

रत्ननगर सँगको छलफलमा बोल्दै नगर उपप्रमुख नगेन्द्रप्रसाद सङ्ग्रौलाले बिर्तामोडले न्यायिक क्षेत्रमा प्रदेश १ मा उत्कृष्ट काम गरेको बताउनु भयो । उहाँले बिर्तामोडमा मुद्दाको फायल रेकर्ड व्यवस्थित रहेको र कानुनी सल्लाहकार नियुक्त गरेर काम गर्दै आएको जानकारी दिनुभयो ।

प्रकाशित मिति : २३ जेष्ठ २०७९, सोमबार ००:००  १० : २८ बजे