- वीरता लेडी जेसीजको मानसिक स्वास्थ्य सचेतना
- सुहाङकाे संसदीय यात्रा सुरू
- बिर्तामोडको शनिश्चरे रोडमा खुल्यो ह्वाइट एञ्जल ब्युटी सैलुन
- बिर्तामोड खानेपानीमा भौगोलिक सूचना प्रणाली
- झापामा गोली हानेर ब्राउन सुगर कारोबारी पक्राउ
झापा– राष्ट्रिय राजनीतिका दुई प्रभावशाली कांग्रेस नेताले गृहजिल्ला झापामा आफू निकटका अलग–अलग उमेद्वारलाई जिल्लाको नेतृत्वमा अघि सारेका छन् । पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले आफू निकटका नेतालाई जिल्लाको नेतृत्व सुम्पन चाहेका हुन् ।
प्रवक्ता शर्माको दरिलो साथ लिएर वर्तमान जिल्ला उपसभापति राम कट्टेल झापा कांग्रेसको नेतृत्व सम्हाल्ने दाउमा छन् । पार्टीभित्र सधैँ इमान र निष्ठाको राजनीति गरेका कट्टेल उपसभापति रहेकाले नेतृत्वका स्वभाविक दावेदार हुन् । पार्टी प्रवक्ता शर्माको चाहनाविपरीत पूर्व महामन्त्री सिटौलाले आफूनिकटका नेता देउमान थेबेलाई जिल्ला सभापति बनाउन चाहेका छन् । थेवे पूर्व जिल्ला उपसभापति हुन् ।
सहमतिमा जिल्लाको नेतृत्व चयन गर्ने विषयमा नेताहरु एकमत नहुँदा झापा कांग्रेसमा कार्यकर्ताहरु प्रष्ट दुई खेमामा विभाजित भएका छन् । ‘सभापतिका दावेदार कट्टेल र थेबे माध्यम मात्रै हुन् । मूलतः यो राजनीतिक प्रतिस्पर्धा पूर्व महामन्त्री सिटौला र प्रवक्ता शर्मा बीचको हो’, नेपाली कांग्रेसका एकजना पुराना नेता भन्छन्, ‘नेताहरु बीचको खेलले कांग्रेसलाई कमजोर मात्रै बनाउँछ ।’
नेतृत्व चयनको विषयलाई लिएर झापा कांग्रेसका नेता–कार्यकर्ता आरोप प्रत्यारोपमा छन् । १३ औँ महाधिवेशनको पूर्वसन्ध्यामा सभापतिका दाबेदार रहेका थेबेलाई १४ औं महाधिवेशनका वेला सभापति बनाउने लिखित सहमति भएको सिटौला पक्षले दाबी गरेपछि झापा कांग्रेस भित्रको विवाद सतहमा आएको छ । कांग्रेसका पूर्व जिल्ला सभापति सुधिर सिवाकोटीले त सहमति तोडेर प्रवक्ता शर्माले ‘राजनीतिक बेइमानी गरेको’ आरोप लगाएका छन् ।
नेता थेबेलाई जिल्ला सभापति बनाउने सात वर्षअघिको सहमतिमा पार्टी प्रवक्ता शर्माले समेत हस्ताक्षर गरेको सिटौला पक्षको दाबी सार्वजनिक भएपछि पत्रकार सम्मेलन गरेरै राम कट्टेल जिताउ अभियानले सार्वजनिकरुपमा खण्डन गर्दै नौ बूँदे लिखित सम्झौता सार्वजनिक गरिदिएको थियो । नौ बूँदामा नेता थेवेलाई सभापति बनाउने उल्लेख छैन् । प्रवक्ता शर्माले टेलिभिजन अन्तरवार्तामा यसको सार्वजनिक खण्डन गरिसकेका छन् ।
पार्टी प्रवक्ता शर्मालाई इंगित गर्दै कांग्रेस केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीले सानो मान्छेले आफूले गरेको सहमति नमानेको भन्दै सार्वजनिक अभिव्यक्ति दिएपछि त्यसले झापा कांग्रेसभित्र खैलाबैला मच्चिएको थियो । कांग्रेस कार्यकर्ता भने चार जना नेता बसेर सहमति गर्दैमा त्यसलाई मान्न नसकिने बताउँछन् । ‘लिखित सम्झौतामा कहीँकतै नेता थेवेलाई सभापति बनाउने उल्लेख गरेको भेटिएन’, एकजना कार्यकर्ताले भने, ‘लिखित सहमतिका नाममा भ्रम फैलाएर कार्यकर्तालाई लडाउन खोजियो ।’
कांग्रेस केन्द्रीय सदस्य सरिता प्रसाई नेताले चाहेकालाई सभापति बनाउने भन्दा पनि कार्यकर्ताले जसलाई विश्वास गर्छन् उही सभापति हुने बताउँछिन् । ‘जो आए पनि कांग्रेस आउँछन्, पुरानो सहमतिको अब अर्थ छैन्’, प्रसाईले भनिन् । झापा कांग्रेसको नेतृत्व चयनका लागि शुक्रवार निर्वाचन हुँदैछ । दुबै दावेदारले आफ्नो प्यानल बनाएर उमेद्वारी घोषणा गरिसकेका छन् । जिल्ला अधिवेशनमा ३ हजार ३ सय ६९ जना क्षेत्रीय प्रतिनिधि र वडा सभापतिहरुले मतदान गर्ने छन् ।
कट्टेल समूहबाट उपसभापतिमा केदारशमसेर गिरी र प्रेम सम्बाहाम्फे उम्मेद्वार हुने निश्चित भएको छ । त्यस्तै सचिवमा विश्वदीप लिङदेन र टोम राजबंशी कट्टेल समूहबाट उम्मेद्वार भएका छन । त्यसैगरी उक्त समुहबाट सहसचिवमा उमाराम प्रसाई र पदम लिम्बु उम्मेद्वार रहेको कट्टेलको सचिवालयका संयोजक पुष्पराज पौडेलले बताए ।
थेवेको प्यानलबाट उपसभापतिमा शेरबहादुर भट्टराई र केशवराज पाण्डे, सचिवमा कृष्ण हुमागाँई र नविन बिमली, सहसचिवमा कालेन्द्र राजवंशी र कमल भण्डारी उम्मेद्वार छन् । नेताहरु एकले अर्कालाई काखी च्याप्ने परिस्थिति बन्दै जाने हो भने कांग्रेस आन्तरिक रुपमा कमजोर हुने र विपक्षी बाह्य राजनीतिक शक्तिसँग लड्न मुस्किल हुने कार्यकर्ता बताउँछन् ।
नेपाली कांग्रेस झापाको वर्तमान नेतृत्व पनि नेता थेवेलाई सभापति बनाउनु पर्ने योजनामा खुलेर लागेको छ । दुई कार्यकाल पार्टीको जिल्ला सभापतिको नेतृत्व गरेका उद्धव थापा १३ औँभन्दा १४ औँ महाधिवेशन एकताको महाधिवेशनका रुपमा देखिएको बताउँदै पार्टीभित्र कुनै विवाद नरहेको तर्क गर्छन् ।
महाधिवेशनका बेला पार्टीभित्र प्रतिष्पर्धाको आन्तरिक अभ्यास जरुरी हुने भएकाले यसबाट आत्तिनु वा विचलित हुनु पर्ने अवस्था नरहेको नेताहरुको धारणा छ । आफूलाई ठीक लागेको समूहबाट निर्वाचन लड्न पाउने नेता कार्यकर्ताको अधिकार पार्टीले सुरक्षित राख्नु पर्ने केन्द्रीय सदस्य प्रसाई बताउँछिन् ।
आन्तरिक सहमतिका नाममा नेतृत्व चयनको विवाद निकालेर पार्टीलाई कमजोर बनाउने खेलमा नेताहरु लागेको भन्दै झापाका कांग्रेस कार्यकर्ताले नेतृत्वको चर्काे आलोचना गरेका छन् ।