बिर्तामोड– नेपाली कांग्रेसको १५औँ नियमित महाधिवेशनका विषयमा सहमति जुट्न नसकेपछि पार्टीभित्रको नियमित अधिवेशन पक्षधर समूहले झापामा छुट्टै अधिवेशन प्रक्रिया अघि बढाएको छ ।
समूहले बिर्तामोड, भद्रपुर र दमक नगर समितिको नेतृत्व चयन गरेको छ । तीनवटै नगरमा सभापति सर्वसम्मत वा निर्विरोध चयन भएका छन् ।
नियमित अधिवेशन पक्षधर समूहले बिर्तामोड नगर सभापतिमा मनोज घिमिरे, भद्रपुरमा खड्कबहादुर लिम्बू र दमकमा सुनिल राईलाई चयन गरेको हो ।
महाधिवेशनको प्रक्रियालाई लिएर पार्टीभित्र देखिएको विवादका बिच नगर तहमा नेतृत्व चयनको गतिविधि अघि बढेको हो ।
बिर्तामोडमा सिके चिन्तन प्रतिष्ठानको सभाहलमा भएको अधिवेशनले घिमिरेलाई नगर सभापतिमा सर्वसम्मत चयन गरेको छ ।
समितिको उपसभापतिमा विजय कन्दङबा, सचिवमा अजित ढुंगाना र कोषाध्यक्षमा रामकुमार नेपाल चयन भएका छन् । अधिवेशनमा प्रतिष्ठानका संरक्षक विवेक केशरी प्रसाईं प्रमुख अतिथि थिए ।
कोशी प्रदेश संयोजक गोमा भट्टराई विशिष्ट अतिथि तथा जिल्ला संयोजक कृष्ण हुमागाई विशेष अतिथिका रूपमा सहभागी थिए ।
बिर्तामोडमा नगर अधिवेशनअघि समूहले १० वटै वडाको अधिवेशन सम्पन्न गरेको थियो । वडा सभापतिमा बिर्तामोड-१ मा रविन बुढाथोकी, २ मा निरज बुढाथोकी, ३ मा टंकप्रसाद दवाडी, ४ मा सुरेन्द्र मैनाली, ५ मा दिपेन चौधरी, ६ मा सनम पुरी, ७ मा साजत आलम, ८ मा बालकृष्ण प्रसाईं, ९ मा खेमराज पौडेल र १० मा गणेश श्रेष्ठ चयन भएका छन् ।
यसैगरी, भद्रपुर नगर अधिवेशनले खड्कबहादुर लिम्बूलाई नगर सभापतिमा निर्विरोध चयन गरेको छ ।
नगर सचिवमा मानसिंह राजवंशीसहित कार्यसमितिका सबै पदाधिकारी र सदस्य निर्विरोध चयन भएको निर्वाचन समितिले जनाएको छ ।
दमक नगर समितिको सभापतिमा सुनिल राई निर्विरोध चयन भएका छन् । विद्यार्थी जीवनदेखि नै कांग्रेस राजनीतिमा सक्रिय राईको नेतृत्वमा नगर समितिको नयाँ कार्यसमिति चयन भएको हो ।
संस्थापन इतर समूहले छुट्टै महाधिवेशनको तयारी अघि बढाएसँगै झापामा नगर, क्षेत्र र प्रदेश तहका अधिवेशनहरू भइरहेका छन् ।



















