१९ आश्विन २०८३, सोमबार | Mon Oct 5 2026

चारपाने युनाइटेड सेमिफाइनलमा



चारपाने युनाइटेड सेमिफाइनलमा

अर्जुनधारा– चारपाने युनाइटेड भेट्रान्स क्लब प्रथम सालबारी–मिलडाँडा पुरुष नकआउट भेट्रान्स फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । झापाको अर्जुनधारा-सालबारीमा जारी प्रतियोगिताअन्तर्गत सोमबार भएको क्वाटरफाइनलमा पाँचथरको बौद्ध भेट्रान्स क्लबलाई ३-० गोलले पराजित गर्दै चारपानेले अन्तिम चारमा स्थान बनाएको हो ।

चारपानेको जितमा प्रविण विकले दुई तथा विकास राईले एक गोल गरे । खेलको १९औँ मिनेटमा प्रविणले गोल गर्दै चारपानेलाई अग्रता दिलाए । पहिलो हाफमै चारपानेले अग्रता दोब्बर बनायो । ३७औँ मिनेटमा प्राप्त फ्रिकिकमा विकास राईले हेडमार्फत गोल गर्दै टोलीलाई २-० को अवस्थामा पुर्‍याए ।

खेलको अतिरिक्त समयमा प्रविणले व्यक्तिगत दोस्रो गोल थपेपछि चारपानेले ३-० को सहज जित निकाल्यो । दुई गोल गरेका प्रविण खेलको प्लेयर अफ द म्याच घोषित भए । उनले नगद ३ हजार रुपैयाँ पुरस्कार पाए । प्रविणलाई बिर्तामोड नगर प्रमुख पवित्रादेवी महतारा र भारतीय खेलप्रेमी जोसेफ खाती लगायतले पुरस्कार प्रदान गरे ।

चारपानेले अब सेमिफाइनलमा झिलझिले भेट्रान्स क्लबको सामना गर्नेछ । झिलझिलेले उद्घाटन खेलमा ज्ञानेचोक भेट्रान्सलाई पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो ।

प्रतियोगिताको अन्तिम क्वाटरफाइनलमा मंगलबार बिर्तामोड भेट्रान्स क्लब र मेची भेट्रान्स फुटबल क्लबबिच प्रतिस्पर्धा हुने आयोजक समितिका संयोजक नन्दलाल खतिवडाले बताए ।

असोज २४ गते हुने फाइनलका विजेताले नगद ५१ हजार रुपैयाँसहित ट्रफी तथा उपविजेताले ३१ हजार रुपैयाँ प्राप्त गर्नेछन् । विभिन्न विधागत उत्कृष्ट खेलाडीलाई जनही ५ हजार र सर्वोत्कृष्ट खेलाडीलाई ७ हजार ५ सय रुपैयाँसहित ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रकाशित मिति : १९ आश्विन २०८३, सोमबार ००:००  ८ : ५३ बजे