१९ आश्विन २०८३, सोमबार | Mon Oct 5 2026

पुस १ देखि स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य



काठमाडौं– स्वास्थ्य बीमा बोर्डले आगामी पुस १ गतेदेखि स्वास्थ्य बीमा सेवाका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने भएको छ । १६ वर्ष उमेर पूरा गरेका नागरिकले स्वास्थ्य बीमामा नयाँ आबद्धता, नवीकरण तथा उपचार सेवा लिन राष्ट्रिय परिचयपत्र पेश गर्नुपर्ने व्यवस्था लागू गर्न लागिएको हो ।

बोर्डले सूचना जारी गर्दै डिजिटल प्रणालीमार्फत सेवा प्रवाहलाई व्यवस्थित र विश्वसनीय बनाउन राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णय गरिएको जनाएको छ ।

नयाँ व्यवस्थाअनुसार १६ वर्ष पूरा गरेका बीमितले स्वास्थ्य बीमासम्बन्धी सेवा लिँदा राष्ट्रिय परिचयपत्रको विवरण अनिवार्य रूपमा उपलब्ध गराउनुपर्नेछ । यसले बीमितको पहिचान यकिन गर्नुका साथै एउटै व्यक्तिको दोहोरो आबद्धता नियन्त्रण गर्न सहयोग पुग्ने बोर्डको अपेक्षा छ ।

बोर्डले सामान्य तथा लक्षित वर्गअन्तर्गत रहेका सबै बीमित परिवारलाई ई-पोर्टलमार्फत आफ्नो विवरण अद्यावधिक गर्नसमेत आग्रह गर्ने भएको छ । विवरण अद्यावधिक भएपछि बीमा दाबी व्यवस्थापनलाई थप व्यवस्थित र विश्वसनीय बनाउन सकिने बोर्डको भनाइ छ ।

यसैबीच स्वास्थ्य बीमाको भुक्तानी प्रणालीलाई वैज्ञानिक र दिगो बनाउन बोर्डले रणनीतिक खरिद अध्ययन कार्यदल गठन गरेको छ । कार्यदललाई ६० दिनभित्र अध्ययन प्रतिवेदन पेश गर्ने जिम्मेवारी दिइएको छ ।

राष्ट्रिय परिचयपत्रलाई स्वास्थ्य बीमा प्रणालीसँग जोड्ने निर्णयसँगै बोर्डले बीमा सेवा, बीमितको पहिचान र दाबी व्यवस्थापनलाई क्रमशः डिजिटल प्रणालीमा लैजाने तयारी गरेको छ ।

प्रकाशित मिति : १९ आश्विन २०८३, सोमबार ००:००  ३ : २७ बजे