१८ आश्विन २०८३, आइतबार | Mon Oct 5 2026

बाढीपीडितका लागि झापाका निजी विद्यालयले जुटाए १ करोड ८ लाख



झापा-बाढीपहिरो प्रभावितका लागि झापाका निजी विद्यालयले १ करोड ८ लाख ३० हजार ४ सय ३५ रुपैयाँ सहयोग जुटाएका छन् ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) झापाको समन्वयमा सदस्य विद्यालयमार्फत उक्त रकम संकलन गरिएको हो । अभियानमा विद्यालय सञ्चालक, शिक्षक, कर्मचारी, विद्यार्थी र अभिभावक सहभागी भएका थिए ।

प्याब्सन झापाका अध्यक्ष छत्रबहादुर कार्कीका अनुसार सदस्य विद्यालयबाट ९५ लाख ४३ हजार २९ रुपैयाँ प्याब्सन झापाको बैंक खातामा जम्मा भएको थियो । त्यसमध्ये पहिलो चरणमा ७५ लाख ९३ हजार ९ सय ४७ र दोस्रो चरणमा १९ लाख ४९ हजार ८२ रुपैयाँ संकलन भएको हो ।

संकलित रकममध्ये ८९ हजार रुपैयाँ प्याब्सन केन्द्रीय राहत कोषमा पठाइएको छ । सदस्य विद्यालयहरूले आफ्नै तर्फबाट प्रधानमन्त्री राहत तथा दैवी प्रकोप कोषमा ११ लाख ९८ हजार ४ सय ६ रुपैयाँ जम्मा गरेका छन् ।

प्याब्सन झापाका सचिव लक्ष्मीप्रसाद उप्रेतीका अनुसार राहत रकम संकलन, बैंकमा जम्मा तथा सम्बन्धित कोषमा पठाउने काम समन्वयमा गरिएको हो ।

प्याब्सन झापाले तत्कालीन राहतसँगै बाढीपहिरो प्रभावित परिवारको पुनःस्थापना र प्रभावित बालबालिकाको शिक्षालाई निरन्तरता दिन आवश्यक सहयोगमा समेत जोड दिएको छ ।

प्रकाशित मिति : १८ आश्विन २०८३, आइतबार ००:००  १० : ३८ बजे