१८ आश्विन २०८३, आइतबार | Mon Oct 5 2026

मिस्टर कञ्चनजंघा विजेताको थाइल्यान्ड खर्च आयोजकले व्यहोर्ने



बिर्तामोड– झापामा हुने राष्ट्रियस्तरको ‘मिस्टर कञ्चनजंघा’ खुला शारीरिक सुगठन प्रतियोगिताका विजेताले थाइल्यान्डमा हुने एसियन च्याम्पियनसिपमा सहभागी हुँदा लाग्ने सम्पूर्ण खर्च आयोजकबाट पाउने भएका छन् । प्रतियोगिताको ओभरअल च्याम्पियनको सहभागिता, आउजाउ र थाइल्यान्डमा बसोबासको खर्च आयोजकले व्यहोर्ने भएको हो ।

बडी ग्यारेज शारीरिक सुगठन क्लबको बैठकले यस्तो निर्णय गरेको नेपाल शारीरिक सुगठन तथा फिटनेस महासंघ कोशी प्रदेशका अध्यक्ष आदित्य पराजुलीले बताए । उनका अनुसार आगामी नोभेम्बर १३ देखि १६ तारिखसम्म थाइल्यान्डको पटायास्थित ब्राइटन ग्रान्ड होटल एन्ड कन्भेन्सनमा हुने आइएफबिबी एसियन च्याम्पियनसिपमा सहभागी हुने खेलाडीको खर्च आयोजकले व्यहोर्नेछ ।

प्रतियोगिताका कार्यक्रम संयोजक तथा बडी ग्यारेज शारीरिक सुगठन क्लबका सञ्चालक राम दाहालले प्रतियोगिताको तयारी पूरा भएको बताए । उनका अनुसार असोज २० गते प्रिजजिङ र २१ गते फाइनल प्रतिस्पर्धा हुनेछ ।

कोशी प्रदेशमा पहिलोपटक राष्ट्रियस्तरमा आयोजना हुन लागेको प्रतियोगिताको तेस्रो संस्करणमा पुरुषतर्फ ५५, ६०, ६५, ७०, ७५ र ७५ केजीभन्दा माथिका तौल समूहमा प्रतिस्पर्धा हुनेछ । महिलातर्फ खुला प्रतिस्पर्धा गराइनेछ ।

प्रतियोगिताको ओभरअल विजेताले पाँच लाख रुपैयाँ नगद पुरस्कार पाउने आयोजक समितिका अध्यक्ष पदम श्रेष्ठले बताए । अघिल्लो संस्करणमा विजेताले तीन लाख ११ हजार १११ रुपैयाँ पाएका थिए ।

दोस्रो हुनेले तीन लाख, तेस्रोले दुई लाख, चौथोले एक लाख, पाँचौँले ७५ हजार र छैटौँ हुनेले ५० हजार रुपैयाँ पाउनेछन् । प्रत्येक तौल समूहका दोस्रो र तेस्रो हुने खेलाडीलाई क्रमशः सात हजार र पाँच हजार रुपैयाँ प्रदान गरिनेछ भने बाँकी तीन खेलाडीलाई ट्रफी र मेडल दिइनेछ ।

महिलातर्फ प्रथम हुनेले एक लाख, दोस्रोले ५० हजार र तेस्रो हुनेले २५ हजार रुपैयाँ पाउने कोषाध्यक्ष शारदा दाहालले जानकारी दिइन् । कोशी प्रदेशमा पहिलोपटक महिला विधालाई प्रतियोगितामा समावेश गरिएको हो ।

देशभरबाट करिब दुई सय खेलाडी सहभागी हुने अपेक्षा गरिएको प्रतियोगिताका सचिव हिमाल खरेलले बताए । प्रतियोगिता सम्पन्न गर्न करिब ३५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

यसैबीच प्रतियोगिताका विजेताले प्राप्त गर्ने ट्रफी र मेडलको अनावरण गरिएको छ ।

प्रकाशित मिति : १८ आश्विन २०८३, आइतबार ००:००  ८ : ५४ बजे