बिर्तामोड-दसैँको व्यापारिक सिजनमा बिर्तामोडमा सुरु गरिएको ‘चिनो वेयरहाउस सेल’ बन्द गर्न स्थानीय व्यवसायीबाट आएको दबाबप्रति चिनो व्यवस्थापनले असन्तुष्टि व्यक्त गरेको छ ।
चिनोका संस्थापक नवराज बजगाईंले बजार परीक्षणका लागि चारदिने कार्यक्रम लिएर बिर्तामोड आएको जनाउँदै त्यसलाई रोक्न खोजिएकोप्रति सार्वजनिकरुपमा असन्तुष्टि जनाएका हुन् ।
बजगाईंले सेल बन्द गर्नुपर्ने भए स्पष्ट मापदण्ड र लिखित सूचना दिनुपर्ने बताएका छन् । चिनोले शनिबारदेखि बिर्तामोड सिटी सेन्टरमा फ्याक्ट्रीमा उत्पादित कपडा छुट मूल्यमा बिक्री गर्ने गरी सेल सुरु गरेको थियो ।
दसैँ, तिहार र छठको मुख्य व्यापारिक समयमा बाहिरबाट आएको व्यवसायले अस्थायी बिक्री केन्द्र सञ्चालन गर्दा नियमित व्यवसाय प्रभावित हुने भन्दै स्थानीय व्यवसायीले विरोध गरेका थिए ।
बिर्तामोड उद्योग वाणिज्य संघको पहलमा सेल सञ्चालक, चिनो व्यवस्थापन र व्यवसायीबिच छलफल समेत भएको थियो । छलफलमा स्थानीय व्यवसायीले सेल बन्द गर्न माग गरेका थिए ।
संघले समेत सेल बन्द गर्न दबाब दिएको थियो । संघका कोषाध्यक्ष युवराज निरौलाले वर्षभरि पसल सञ्चालन, रोजगारी र करको दायित्व बहन गरिरहेका स्थानीय व्यवसायीलाई मुख्य सिजनमा बाहिरबाट आउने छुट बिक्रीले असर पार्ने बताए ।
बजगाईंले भने आफूहरू स्थानीय व्यवसायीसँग प्रतिस्पर्धा गर्न नभई झापाको बजार सम्भावना बुझ्न आएको बताए । उनका अनुसार झापा आउनुअघि सहकार्यका लागि करिब २ हजार व्यवसायीलाई पत्राचार गरिएको थियो ।
‘झापाले वेलकम गर्ला भन्ने थियो । वाणिज्य संघले पनि रेस्पेक्ट गर्ला भन्ने आशा राखेका थियौँ,’ उनले भने, ‘तर व्यवसाय क्षेत्रका साथीहरूले जुन किसिमको असन्तुष्टि व्यक्त गर्नुभयो, त्यो चित्तबुझ्दो देखिएन ।’
सेल बन्द गर्न दबाब दिइएपछि बजगाईंले लिखित प्रक्रियाको माग गरेका छन् । ‘म कुनै फ्रड गरेर हिँड्ने पक्षमा छैन । संघले क्राइटेरिया तोकेर लिखित नोटिस दिनुपर्छ । त्यो नोटिस जेनजी कम्युनिटीमा टाँसेर सेल बन्द गरेर हिँड्छु,’ उनले भने । ठूलो रकम बाहिरिने जस्तो गरी सेलको विषयलाई प्रचार गरिएकोप्रति पनि उनले असन्तुष्टि जनाए ।
चिनो व्यवस्थापनका अनुसार सेल सञ्चालनअघि जिल्ला प्रशासन कार्यालय, सम्बन्धित वडा र नगरपालिकासँग आवश्यक अनुमति लिइएको थियो । कम्पनीले हाल देशभर ११ वटा आउटलेट र तीनवटा होलसेल सञ्चालन गर्दै आएको जनाएको छ ।
झापामा बजार विस्तारको सम्भावना अध्ययन गर्न सीमित नमुना तथा केही थान कपडा ल्याएर उपभोक्ताको प्रतिक्रिया बुझ्ने उद्देश्यले सेल सञ्चालन गरिएको कम्पनीको भनाइ छ ।
बजगाईंका अनुसार झापामा वार्षिक करिब २० देखि २२ अर्ब रुपैयाँ बराबरको कपडा कारोबार हुने अनुमान छ र दसैँमा मात्रै त्यसको करिब २५ प्रतिशत कारोबार हुन्छ ।
यही बजार सम्भावना बुझ्न आएको चिनोको सेललाई स्थानीय व्यवसायीले मुख्य सिजनमा चुनौतीका रूपमा लिएपछि विवाद भएको हो । सेल बन्द भइसकेको छैन । बन्द गर्न आएको दबाबप्रति चिनो पक्षले आपत्ति जनाएको हो ।



















