काठमाडौं-रसुवा–भोटेकोशी क्षेत्रमा आएको बाढीबाट विस्थापित परिवारको सुरक्षित पुनःस्थापना र अस्थायी बसोबासका लागि उपयुक्त जग्गा पहिचान गर्न सरकारले समिति गठन गरेको छ ।
भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नापी विभागका महानिर्देशक प्रकाश जोशीको संयोजकत्वमा समिति गठन गरेको हो ।
समितिमा संघीय तथा पूर्वाधार मन्त्रालय, भूमि व्यवस्थापन तथा अभिलेख विभाग, जिल्ला प्रशासन, स्थानीय तह, प्रहरी, सशस्त्र प्रहरी, भूमि प्रशासन र नापी कार्यालयका प्रतिनिधि सदस्य छन् । उपसचिव दामोदर वाग्ले सदस्य–सचिव छन् ।
समितिले बाढीबाट घरजग्गा क्षति भई विस्थापित, जोखिमका कारण पुरानै स्थानमा बस्न नसक्ने तथा जोखिम हुँदाहुँदै प्रभावित क्षेत्रमा बसिरहेका परिवारको वास्तविक विवरण संकलन गर्नेछ ।
त्यसपछि पुनःस्थापनाका लागि सम्भावित जग्गाको स्थलगत अध्ययन, प्रारम्भिक विपद् जोखिम मूल्याङ्कन र बसोबासको उपयुक्तता परीक्षण गरिने मन्त्रालयले जनाएको छ ।
जग्गाको भौगोलिक अवस्था, बाढी-पहिरोको जोखिम, आवश्यक पूर्वाधारलगायत अध्ययन गरी समितिले पुनःस्थापनाका लागि स्पष्ट सुझाव र सिफारिससहितको प्रतिवेदन मन्त्रालयमा बुझाउनेछ ।


















