बिर्तामोड– नारी सञ्चार गृह झापाले आफ्नो १५औँ स्थापना दिवस तथा १४औँ वार्षिक साधारण सभा सामाजिक उत्तरदायित्व र सिर्जनात्मक गतिविधिसहित मनाएको छ ।
संस्थाले स्थापना दिवसको अवसरमा भोटेकोशी क्षेत्रका बाढी प्रभावित परिवारका लागि राहत सहयोग गर्नुका साथै आफ्ना सदस्यलाई लेखनवृत्ति र सम्मान प्रदान गरेको छ ।
बिर्तामोडस्थित जयन्द्र प्रसाईं साहित्य सेवा कोषको सभा हलमा आयोजित कार्यक्रममा गृहले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा १५ हजार रुपैयाँ सहयोग गरेको हो ।
सोही अवसरमा चार जना सदस्यलाई जनही ५ हजार रुपैयाँ नगदसहित सम्मानपत्र प्रदान गरिएको छ । ‘सामुदायिक विद्यालयहरूमा खानेपानी, शौचालय तथा सेनेटरी प्याड भेन्डिङ मेसिनको अवस्था’ शीर्षकको लेखनवृत्ति सृजना परियार र ‘जलवायु परिवर्तन र मानव जीवनमा प्रभाव’ शीर्षकको लेखनवृत्ति सविना लिम्बूलाई प्रदान गरिएको छ ।
पूर्वअध्यक्ष भीमा शिवाकोटीले स्थापना गरेको ‘तीजको सामाजिक सांस्कृतिक महत्व’ सम्बन्धी लेखनवृत्ति किरण हुमागाईंलाई प्रदान गरियो । संस्थापक अध्यक्ष सावित्रा दाहालले स्थापना गरेको ‘वर्ष उत्कृष्ट सदस्य’ पुरस्कार रञ्जिता खड्काले प्राप्त गरिन् ।
संस्थाकी अध्यक्ष स्वस्तिका आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ कोशी प्रदेश उपाध्यक्ष तथा गृहकी पूर्वअध्यक्ष अम्बिका भण्डारी प्रमुख अतिथि थिइन् ।
कार्यक्रममा संस्थापक अध्यक्ष दाहाल, पूर्वअध्यक्ष शिवाकोटी, निवर्तमान अध्यक्ष रेजिना गौतम तथा संस्थापक सदस्यहरू भवानी क्षेत्री, सुशीला सङ्ग्रौला र इन्दु पूर्वेलीको आतिथ्य थियो ।
उपाध्यक्ष जोश्ना श्रेष्ठले स्वागत गरेकी थिइन्। वार्षिक साधारण सभाले सचिव दीपा पोखरेलद्वारा प्रस्तुत सांगठनिक तथा कोषाध्यक्ष सुनिरा मैनालीद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन आवश्यक सुझावसहित सर्वसम्मतिले पारित गरेको छ ।
कार्यक्रममा गृहमा आबद्ध भएका १३ जना नयाँ सदस्यलाई समेत स्वागत गरिएको थियो ।


















