बिर्तामोड– रसुवाको भोटेकोशी बाढीबाट प्रभावितका लागि झापाका स्थानीय तहले १ करोड ५४ लाख ८९ हजार ५ सय ६२ रुपैयाँ सहयोग घोषणा गरेका छन्। केही पालिकाले जनप्रतिनिधि तथा कर्मचारीबाट व्यक्तिगत सहयोग जुटाउने जनाएका छन् भने ६ पालिकाले सहयोगबारे निर्णय गरिसकेका छैनन्।
बुद्धशान्ति गाउँपालिकाले सबैभन्दा बढी ३२ लाख ५५ हजार १७४, दमक नगरपालिकाले ३१ लाख, कचनकवलले २९ लाख ६ हजार १००, झापा गाउँपालिकाले २५ लाख २८ हजार २८८ र अर्जुनधारा नगरपालिकाले २१ लाख रुपैयाँ सहयोग घोषणा गरेका छन्।
भद्रपुरले ११ लाख र बिर्तामोडले ५ लाख रुपैयाँ दिने निर्णय गरेका छन्। शिवसताक्षीका कर्मचारीले करिब ८ लाख रुपैयाँ व्यक्तिगत रूपमा सहयोग गर्ने भएका छन् भने नगरपालिकाको निर्णय हुन बाँकी छ। बाह्रदशीले विपद् व्यवस्थापन कोषबाट १ लाख रुपैयाँ छुट्याएको छ।
मेचीनगरले जनप्रतिनिधि र कर्मचारीबाट व्यक्तिगत सहयोग गर्ने जनाएको छ। कन्काई, गौरादह, गौरीगन्ज, कमल, हल्दिबारी र शिवसताक्षी नगरपालिकाले भने संस्थागत सहयोगबारे निर्णय गर्न बाँकी छ।


















