काठमाडौं- प्रतिपक्षी दल नेकपाका संयोजक तथा संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री बालेन शाहको कार्यशैलीप्रति प्रश्न उठाउँदै सबै सांसद र दललाई विश्वासमा लिएर अघि बढ्न आग्रह गरेका छन् ।
बुधबार प्रतिनिधिसभामा सम्बोधन गर्दै प्रचण्डले प्रधानमन्त्रीले प्रतिपक्षी मात्र नभई आफ्नै सांसदलाई समेत विश्वासमा लिन प्रयास नगरेको टिप्पणी गरे ।
‘उहाँ आउनुहुन्छ कसैको अनुहार नहेरि जानुहुन्छ यो के तरिका हो ? यस्तो हुँदैन । प्रधानमन्त्री त हामी सबैको हो । जतिबेला हामी सबैले सहयोग गर्छौं भनिरहेका छौं । भन्दा भन्दै कसैको पनि अनुहार हेर्न नपर्ने के हो त्यो तरिका ?’ प्रचण्डले भने ।
उनले प्रधानमन्त्री शाहलाई अहिले ठूलो अवसर प्राप्त भएको भन्दै संकटको समयमा लामो भाषण र सामाजिक सञ्जालका पोस्टभन्दा परिणाम दिने नेतृत्व आवश्यक रहेको बताए ।
‘जनताले आश्वासन खोजेका छैनन् । हरेक ठाउँमा सरकारको उपस्थिति खोजेका छन् । सोसल मिडियामा पोस्ट गरेर तपाईंहरूले चुनाव त जित्नुभयो तर यो संकट समाधान हुँदैन,’ उनले भने ।
देश संकटमा रहेका बेला राष्ट्रिय एकता कायम गर्ने जिम्मेवारी प्रधानमन्त्रीकै भएको उल्लेख गर्दै प्रचण्डले सबैको विश्वास जितेर अघि बढ्न शाहलाई आग्रह गरे ।
‘उहाँले गम्भीर भएर सबैको विश्वासको जित्न सक्नु भएन भने समयले नपर्खिनसक्छ उहाँलाई पनि,’ प्रचण्डले चेतावनी दिए ।


















