विराटनगर– नेपाली कांग्रेसका सभापति गगन थापाले भदौ २४ मा भएको घटनालाई सरकारले ढाकछोप गरिरहेको आरोप लगाएका छन् ।
विराटनगरमा पत्रकारसँगको कुराकानीमा उनले जेनजी आन्दोलनको प्रतिवेदन ग्रहण गर्ने क्रममा सरकारले भदौ २४ को घटनाबारे छुट्टै अध्ययन कार्यदल गठन गर्ने प्रतिबद्धता जनाएको भए पनि अहिलेसम्म त्यसअनुसार काम नगरेको बताए ।
थापाले उक्त घटनाको निष्पक्ष छानबिनका लागि उच्चस्तरीय कार्यदल गठन गर्न नेपाली कांग्रेसले सरकारको ध्यानाकर्षण गराएको जानकारी दिए। ‘घटनाको वास्तविकता बाहिर ल्याउन स्वतन्त्र र उच्चस्तरीय अनुसन्धान आवश्यक छ’, उनले भने ।
उनले सिंहदरबार जलाउने घटनामा संलग्नमाथि कारबाही हुनुपर्नेमा कांग्रेस स्पष्ट रहेको पनि बताए । दोषी पहिचान गरी कानुनी दायरामा ल्याउन आयोग गठन गरेर अनुसन्धान अघि बढाउनुपर्ने पक्षमा कांग्रेस उभिएको उनको भनाइ थियो ।
सरकारले घटनाको सत्यतथ्य सार्वजनिक गर्न ढिलाइ गर्दा आशंका बढ्दै गएको थापाको टिप्पणी थियो ।
















