काठमाडौँ- राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा दुई दिनभित्र सार्वजनिक गर्ने तयारी गरेको छ । बोर्डले उत्तरपुस्तिका परीक्षण तथा इन्ट्रीको काम सकेर हाल रुजुको काम गरिरहेको जनाएको छ ।
परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार आईटीतर्फको काम सम्पन्न भएपछि बोर्ड बैठक बसेर नतिजा सार्वजनिक गरिनेछ । यसपटक परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गरिएकाले नतिजा छिटो प्रकाशन गर्न सम्भव भएको छ ।
चैत १९ देखि २९ गतेसम्म सञ्चालन भएको एसईई परीक्षामा पाँच लाख १२ हजार ४२१ विद्यार्थी सहभागी थिए ।
















