भद्रपुर– भुटानको थिम्पु सिटी फुटबल क्लबलाई ३-२ गोलअन्तरले पराजित गर्दै चर्च ब्वाइज युनाइटेड प्रथम चन्द्रगढी महिला गोल्डकप को सेमिफाइनलमा प्रवेश गरेको छ।
भद्रपुरमा आइतबार भएको दोस्रो दिनको खेलमा चर्च ब्वाइजले सुरुआतदेखि नै आक्रामक खेल प्रस्तुत गरेको थियो। खेलको २७औँ मिनेटमा मरियम खातुनले डिबक्स बाहिरबाट गरेको आकर्षक प्रहार गोलमा परिणत हुँदा चर्च ब्वाइजले अग्रता लिएको थियो।
भुटानी गोलकिपर पोस्टभन्दा अगाडि बढेको मौका उपयोग गर्दै उनले दायाँ कुनाबाट बल जाली चुमाएकी थिइन्। पहिलो हाफको अतिरिक्त समयमा खातुनले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता दोब्बर पारिन्।
वर्षा ओलीको पासमा उनले गरेको एक्रोब्याटिक प्रहार भुटानका खेलाडीलाई छोएर गोलमा परिणत भएको थियो। पहिलो हाफमा चर्च ब्वाइज २-० ले अघि रह्यो।
दोस्रो हाफमा भने थिम्पु सिटीले पुनरागमनको संकेत देखायो। ४४औँ मिनेटमा रोता राईले गोल गर्दै अन्तर घटाइन्। त्यसपछि ५८औँ मिनेटमा प्रिया घलेको क्रस क्लियर गर्ने क्रममा चर्चकी डिफेन्डर मनिता तामाङबाट आत्मघाती गोल भएपछि खेल २–२ को बराबरीमा पुगेको थियो।
तर ७९औँ मिनेटमा वर्षा ओलीले निर्णायक गोल गरिन्। मध्यभागबाट पाएको बललाई उनले गोलकिपरलाई बिट गर्दै पोस्टको जालीमा पुर्याइन्। त्यसपछि थप गोल नहुँदा चर्च ब्वाइज अन्तिम चारमा पुग्न सफल भयो।
दुई गोल गरेकी चर्च ब्वाइजकी मरियम खातुन प्लेयर अफ द म्याच घोषित भइन्। उनले नगद ११ हजार रुपैयाँ प्राप्त गरिन्।
प्रतियोगिताअन्तर्गत सोमबार नेपाल पुलिस क्लब र आयोजक चन्द्रगढी युवा क्लबबीच प्रतिस्पर्धा हुने आयोजक क्लबका अध्यक्ष रोहित सुब्बाले जानकारी दिए।
प्रतियोगिताको विजेताले नगद ११ लाख रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ भने उपविजेताले ५ लाख रुपैयाँ पाउनेछ। महिला फुटबलमा यो पुरस्कार राशि नेपालकै सर्वाधिक रहेको आयोजकले जनाएको छ।
















