बिर्तामोड-बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सवको अपनत्व लिन बीरता लेडी जेसीज तयार भएको छ । महोत्सवको तयारी भइरहँदा लेडी जेसीजले सोमवार आयोजक बिर्तामोड उद्योग वाणिज्य संघसँग आवश्यक समन्वय र सहकार्यका विषयमा छलफल गरी अपनत्व लिने निर्णय गरेको हो ।
संघको आयोजनामा फागुन ५ देखि १५ गतेसम्म बिर्तामोडमा अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव आयोजना गरिएको छ । महोत्सवमा हेलिकप्टरबाट पुष्पवृष्टि गर्ने योजना बनाइएको छ ।
लेडी जेसीजकी अध्यक्ष संगीता गिरीले बिर्तामोडका लागि अन्तर्राष्ट्रिय औद्योगिक महोत्सव गौरवको विषय भएको बताउँदै यसलाई सफल पार्ने दायित्व पूरा गर्न आफ्नो नेतृत्व तयार भएको बताइन् । वाणिज्य संघको छत्रछायाँमा लेडी जेसीज अगाडि बढिरहेको जनाउँदै अध्यक्ष गिरीले चुनौतिलाई अवसरका रुपमा बदलेर सहकार्य गर्न आफूहरु जुटेको उल्लेख गरिन् ।
- वीरता लेडी जेसीजको मानसिक स्वास्थ्य सचेतना
- सुहाङकाे संसदीय यात्रा सुरू
- बिर्तामोडको शनिश्चरे रोडमा खुल्यो ह्वाइट एञ्जल ब्युटी सैलुन
- बिर्तामोड खानेपानीमा भौगोलिक सूचना प्रणाली
- झापामा गोली हानेर ब्राउन सुगर कारोबारी पक्राउ
महोत्सवमा सामाजिक अभियानका कार्यक्रमलाई समावेश गरेर लैजाने र त्यसको दायित्व संस्थाले निर्वाह गर्ने अध्यक्ष गिरीको प्रस्ताव छ । संघले सरोकारवाला अरु संस्थालाई बोलाएर छलफल गरिरहेको अवस्थामा बीरता लेडी जेसीजले भने आफ्नै अग्रसरतामा छलफल आयोजना गरी महोत्सव सफलताका लागि आफ्नो रचनात्मक भूमिका रहने जनाएको छ ।
महोत्सव मूल आयोजक समितिका संयोजक राजु न्यौपानेले देशव्यापी आर्थिक संकट र मन्दीका बीच व्यवसायिक क्षेत्रको विकासका लागि महोत्सव आयोजना गर्न लागिएको बताए । महोत्सवमा २५० वटा स्टल रहने व्यवस्था गरिएको छ । तीन लाख दर्शकले महोत्सव अवलोकन गर्ने प्रारम्भिक अनुमान गरिएको छ ।
महोत्सवका लागि संघले बिर्तामोडको रामचोक नजिक राजमार्गसँग जोडिएको खालीस्थान छनोट गरेको छ ।संयोजक न्यौपानेले महोत्सवमा भारत, बंगलादेश र पाकिस्तानका उद्यमी पनि सहभागी हुने बताए ।
‘चुनौति आउँछन् आत्तिएर हुँदैन’
नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ का अध्यक्ष टीकाराज ढकालले बढ्दो आर्थिक संकटका कारण उद्योग व्यवसाय धरासायी भएको बताएका छन् । बीरता लेडी जेसीजको कार्यक्रममा उनले ‘विग हाउस’ लाई कुनै समस्या नभए पनि साना उद्योगी व्यवसायी मारमा परेको बताए ।
‘चुनौति आउँछन्, आत्तिएर हुँदैन । विस्तारै सामना गर्नुको विकल्प पनि छैन्’, बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सवको विश्लेषण कार्यक्रममा अध्यक्ष ढकालले भने ।
उनले औद्योगिक विकासको अवधारणालाई आत्मसात गर्ने राजनीतिक नेतृत्वको अभाव रहेको जनाउँदै कर्मचारीतन्त्रले पनि पन्छिने काम मात्रै गरेको बताए । बिर्तामोड महोत्सवले व्यवसाय प्रवद्र्धनको नीति लिएको जनाउँदै अध्यक्ष ढकालले यसलाई सफल पार्ने दायित्व सबैको भएको औँल्याए ।
कार्यक्रममा प्रदेश १ का सदस्य कुमार भट्टराई, बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश सिवाकोटी, महिला उद्यमी संघकी अध्यक्ष तिलोत्तमा खत्री, शिक्षा बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष एवम् पत्रकार सुब्रत न्यौपाने, लेडी जेसीजकी अध्यक्ष सुष्मा भण्डारी, नारी सञ्चार गृहकी अध्यक्ष भीमा सिवाकोटी, रेडियो विराटकी प्रवन्ध निर्देशक लीला अनमोल, महिला चेम्वर झापाकी अध्यक्ष प्रेमा भट्टराई, सूर्याेदय टेलिभिजनकी प्रवन्ध निर्देशक विष्णु मैनाली, लगायतले बोलेका थिए ।
लेडी जेसीजकी महासचिव निशा शाक्यले सञ्चालन गरेको कार्यक्रममा कार्यकारिणी उपाध्यक्ष मेनुका ओलीले स्वागत मन्तव्य राखेकी थिइन् । लेडी जेसीजकी निवर्तमान अध्यक्ष संगीता चिमरियाले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेकी थिइन् । मुना ढुंगेलले आस्था बाचन गरेको कार्यक्रममा प्रभा रायमाझीले थिम बाचन गरेकी थिइन् ।