२२ आश्विन २०८३, बिहिबार | Fri Oct 9 2026

कांग्रेस महाधिवेशन : भोलि मतदान, तीन स्थानमा केन्द्र तोकियो



काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि शुक्रबार मतदान हुने भएको छ । मतपत्र छपाइमा ढिलाइ भएपछि बिहीबार हुने भनिएको मतदान एकदिन पछाडि सारिएको हो ।

निर्वाचन समितिका अनुसार शुक्रबार बिहान ७ बजेदेखि अपराह्न ३ बजेसम्म मतदान हुनेछ । प्रतिनिधिहरूले आफ्नो प्रदेश तथा समूहअनुसार तोकिएको मतदान केन्द्रमा पुगेर मत हाल्नुपर्नेछ । मतदानअघि परिचयपत्र र मतदाता नामावली रुजु गरिनेछ ।

बागमती प्रदेशका प्रतिनिधिले राष्ट्रिय सभा गृह, कोशी प्रदेश तथा तराई-मधेस समूहका प्रतिनिधिले खुलामञ्चमा मतदान गर्नेछन् । गण्डकी, मधेश, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमसहित जनसम्पर्क समिति तथा भ्रातृ संस्थाका प्रतिनिधिका लागि प्रज्ञा प्रतिष्ठान परिसरमा छुट्टाछुट्टै हल तोकिएको छ ।

मतदानस्थलमा मोबाइल फोनलगायत निर्वाचन आचारसंहिताले निषेध गरेका सामग्री लैजान पाइने छैन । मतदान सकिएपछि मतपेटिका सुरक्षितरूपमा व्यवस्थापन गरी मतगणना सुरु गरिने निर्वाचन समितिले जनाएको छ ।

सभापतिमा गगनकुमार थापा र श्यामकृष्ण खड्कीबिच प्रतिस्पर्धा हुनेछ । महाधिवेशन एकदिन लम्बिएपछि प्रतिनिधिको शुक्रबारको होटल बसाइ र खाना खर्च पार्टीले बेहोर्ने आर्थिक व्यवस्थापन समितिका संयोजक उमेश श्रेष्ठले बताएका छन् ।

महाधिवेशनले विधान संशोधन गर्दै कांग्रेसको केन्द्रीय कार्यसमिति २९७ सदस्यीय बनाएको छ । शुक्रबारको मतदानबाट सभापतिसहित नयाँ केन्द्रीय नेतृत्व चयन हुनेछ ।

प्रकाशित मिति : २२ आश्विन २०८३, बिहिबार ००:००  ८ : ३७ बजे