बुद्धशान्ति-पत्रकार तथा सञ्चारकर्मीबिच आपसी एकता, सद्भाव र सहकार्य बढाउने उद्देश्यले दोस्रो बुद्धशान्ति-१ झापा मिडिया कप २०८३ आयोजना हुने भएको छ ।
बुद्धशान्ति प्रेस क्लब झापाको आयोजनामा हुने प्रतियोगिता असोज २४ र २५ गते बुद्धशान्ति-१ बुधबारेस्थित बुद्ध आदर्श माध्यमिक विद्यालयको खेल मैदानमा सञ्चालन हुनेछ ।
प्रतियोगितामा झापाका विभिन्न पालिकामा रहेका प्रेस क्लब तथा सञ्चारकर्मीका टोली सहभागी हुने आयोजकले जनाएको छ । प्रतियोगिताको तयारीबारे जानकारी दिन शनिबार खेल मैदानमै आयोजित पत्रकार सम्मेलनमा खेल संयोजक नारायण अर्यालले प्रतियोगिताको तयारी तीव्र पारिएको बताए ।
प्रेस क्लबका अध्यक्ष तीर्थ तिम्सिनाले पत्रकारिता क्षेत्रमा सक्रिय सञ्चारकर्मीबिच आत्मीयता र सहकार्य बढाउन प्रतियोगितालाई निरन्तरता दिइएको बताए । उनका अनुसार यसवर्ष अघिल्लो संस्करणको तुलनामा पुरस्कार राशि बढाउने तयारी गरिएको छ ।
पहिलो संस्करणमा विजेताले २५ हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र तथा उपविजेताले १५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाएका थिए । यसवर्ष पनि बुद्धशान्ति गाउँपालिका-१ मुख्य प्रायोजक रहने भएको छ ।
प्रतियोगिता सम्पन्न गर्न करिब ३ लाख २० हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको आयोजकले जनाएको छ । पत्रकार सम्मेलनमा बुद्धशान्ति-१ का वडाध्यक्ष अनिल वाग्ले, नेपाल पत्रकार महासंघ ताप्लेजुङका पूर्वअध्यक्ष आनन्द गौतम र वरिष्ठ पत्रकार गणेशमान मुखियालगायतले प्रतियोगिताले सञ्चारकर्मीबिचको सम्बन्ध थप बलियो बनाउन सहयोग पुग्ने बताए ।
अध्यक्ष तिम्सिनाको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा उपाध्यक्ष तथा खेल संयोजक अर्यालले प्रतियोगिताको तयारी र खेलसम्बन्धी जानकारी दिएका थिए । क्लबका सचिव रोशन भट्टराईले कार्यक्रम सञ्चालन गरेका थिए ।



















