बिर्तामोड– बिर्तामोडमा पटक–पटक भइरहेको विद्युत् अनियमितताप्रति नेकपा एमाले बिर्तामोड नगर कमिटीले नेपाल विद्युत् प्राधिकरणको ध्यानाकर्षण गराउँदै तत्काल विद्युत् आपूर्ति नियमित र व्यवस्थित बनाउन माग गरेको छ ।
एमाले बिर्तामोड नगर कमिटीका अध्यक्ष सुवास भट्टराईले शुक्रबार नेपाल विद्युत् प्राधिकरण अनारमनी वितरण केन्द्रका प्रमुख राजमणि बजगाईलाई ध्यानाकर्षणपत्र बुझाउँदै विद्युत् आउने–जाने क्रमले बिर्तामोडवासीको दैनिक जनजीवन, व्यापार–व्यवसाय र शान्तिसुरक्षासमेत प्रभावित भएको बताए ।
भट्टराईका अनुसार पूर्वसूचनाबिना पटक–पटक विद्युत् अवरुद्ध हुँदा घरायसी विद्युतीय उपकरणमा क्षति पुग्नुका साथै विद्यार्थीको पढाइ र परीक्षाको तयारीमा समेत असर परेको छ । व्यवसायीले जेनेरेटर चलाउनुपर्ने बाध्यता बढेकाले अतिरिक्त खर्चसमेत बढिरहेको उनले बताए ।
‘विद्युत् प्राधिकरणले नियमित महसुल उठाइरहेको अवस्थामा उपभोक्तालाई गुणस्तरीय र भरपर्दो सेवा दिनुपर्छ । प्राविधिक समस्या वा संरचनागत कमजोरी छन् भने त्यसको समाधानका लागि आवश्यक काम तत्काल अघि बढाउनुपर्छ,’ भट्टराईले भने ।
ध्यानाकर्षणपत्रमा बिर्तामोड क्षेत्रमा भइरहेको विद्युत् अनियमितताको दीर्घकालीन समाधान खोज्न, पुराना संरचनाको सुधार तथा आवश्यक मर्मतसम्भार गर्न र उपभोक्ताको घरमा विद्युतीय उपकरणमा हुने क्षति रोक्न प्रभावकारी व्यवस्था गर्न माग गरिएको छ ।
ध्यानाकर्षणपत्र बुझ्दै प्राधिकरण अनारमनी वितरण केन्द्रका प्रमुख राजमणि बजगाईले विद्युत् अनियमित हुँदा उपभोक्ताका घरमा रहेका विद्युतीय उपकरणमा क्षति पुगेको विषय गम्भीर रहेको बताए । उनले समस्या अनारमनी वितरण केन्द्रसँग मात्रै सम्बन्धित नभई संरचनागत कारणसमेत जोडिएको बताए ।
पुराना विद्युत् संरचनाका कारण पनि आपूर्तिमा समस्या आउने गरेको उल्लेख गर्दै बजगाईले उपभोक्तालाई क्षति नहुने गरी कार्यालयका तर्फबाट आवश्यक प्रयास जारी राख्ने बताए ।
ध्यानाकर्षणपत्र बुझाउन अध्यक्ष भट्टराईसहित एमालेका जिल्ला तथा नगर तहका नेता-कार्यकर्ताको सहभागिता थियो । प्राधिकरणको अनारमनी वितरण केन्द्रअन्तर्गत ठूलो संख्यामा उपभोक्ता रहेको सार्वजनिक विवरणसमेत छ ।



















