शिवसताक्षी– श्रीकृष्ण जन्माष्टमीको अवसरमा झापाको शिवसताक्षी नगरपालिका-६ स्थित शिवगञ्ज बजारमा शनिबार भव्य रथयात्रा निकालिएको छ।
वैदिक सनातन धर्म, संस्कार र संस्कृतिको संरक्षण तथा संवर्द्धन गर्ने उद्देश्यले श्री सनातन धर्म संरक्षण समिति, शिवसताक्षीको आयोजनामा रथयात्रा गरिएको हो।
रथयात्राको नगरप्रमुख मेगाहाङ थोप्राले उद्घाटन गरेका थिए। शिवगञ्जस्थित हनुमान मन्दिरबाट सुरु भएको रथयात्रा भेलानुनी, कटुवालचोक, जनता चोक र हवल्दारचोक हुँदै पाथीभरा, दुर्गा, कनकाई भगवती र शिवालय मन्दिरको परिक्रमा गरी पुनः शिवगञ्ज बजारमा आएर समापन भएको थियो।
रथमा भगवान् श्रीकृष्ण र राधाको मूर्ति राखिएको थियो। भजन–कीर्तन, धार्मिक गीत र जयजयकारसहित भक्तजनहरू रथयात्रामा सहभागी भएका थिए।
आयोजकका अनुसार रथयात्रामा महिला, पुरुष तथा बालबालिकासहित हजारौँ धर्मावलम्बी सहभागी भएका थिए। नयाँ पुस्तालाई सनातन धर्म, संस्कार र परम्परासँग जोड्दै धार्मिक तथा सांस्कृतिक पहिचानलाई जीवन्त राख्ने उद्देश्यले रथयात्रा आयोजना गरिएको समितिले जनाएको छ।
रथयात्रामा शिवसताक्षी–६ का वडाध्यक्ष मनोज खुलाल कार्कीसहित जनप्रतिनिधि, सिकिन पासवान, वडा सदस्य गोमा रिजाल, विभिन्न धार्मिक संघ–संस्थाका प्रतिनिधि, भजन मण्डली तथा मन्दिर व्यवस्थापन समितिका पदाधिकारी सहभागी थिए।
जन्माष्टमीको अवसरमा निकालिएको रथयात्राले शिवगञ्ज क्षेत्रमा दिनभर धार्मिक तथा सांस्कृतिक चहलपहल बढाएको थियो। आयोजकले यस्ता कार्यक्रमले धार्मिक आस्था र मौलिक संस्कारको संरक्षणसँगै सामाजिक एकता तथा धार्मिक सद्भाव बलियो बनाउन योगदान पुग्ने जनाएको छ।


















