२० भाद्र २०८३, शनिबार | Sat Sep 5 2026

विश्रान्तिघाटमा निःशुल्क स्वास्थ्य शिविर, ३५० जनाले लिए सेवा



झापा– बिर्तामोड-८ स्थित भेलागुडी विश्रान्तिघाटमा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा करिब ३५० जनाले सेवा लिएका छन् । विकास निर्माणसँगै सामाजिक कार्यमा सक्रिय भेलागुडी विश्रान्तिघाट निर्माण समितिको आयोजनामा शिविर सञ्चालन गरिएको हो ।

बिर्तामोड-८ नम्बर वडा कार्यालयको विशेष पहल तथा दृष्टि आँखा अस्पताल बिर्तामोडको प्राविधिक सहयोगमा बिहीबार विश्रान्तिघाट परिसरमा शिविर आयोजना गरिएको समितिका सचिव मदन अधिकारीले बताए ।

उनका अनुसार शिविरमा उपचारका लागि आएका १२ जनामा मोतियाविन्दुको समस्या पहिचान भएको छ । उनीहरूको सहुलियतमा शल्यक्रिया गरिने अधिकारीले जानकारी दिए ।

शिविरमा आँखाको परीक्षण तथा उपचारसँगै नाक, कान र घाँटीसम्बन्धी स्वास्थ्य जाँचसमेत निःशुल्क गरिएको थियो । वडाध्यक्ष अजय कार्कीका अनुसार भेलागुडी विश्रान्तिघाटलाई धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने योजना अघि बढाइएको छ ।

घाट निर्माण सम्पन्न भएपछि परिसरमा पार्क निर्माणको कामसमेत तीव्र गतिमा भइरहेको उनले बताए । दृष्टि आँखा अस्पतालका बजार व्यवस्थापक सूर्य रिमालले सहजीकरण गरेको शिविरमा अस्पतालका चिकित्सक डा. वीरेन्द्रप्रसाद साह, डा. कौशलकिशोर साह र डा. चन्दना साहसहित सुजन केरुङ, शिक्षा गजमेर, सरोज बस्नेतलगायत स्वास्थ्यकर्मीको टोलीले सेवा दिएको थियो ।

प्रकाशित मिति : १९ भाद्र २०८३, शुक्रबार ००:००  ४ : ३० बजे