बिर्तामोड– बिर्तामोड नगर अस्पतालले सञ्चालन गर्दै आएको २४ सै घण्टे निःशुल्क प्रसूति सेवाबाट तीन वर्षमा २२३ महिलाले लाभ लिएका छन् ।
स्थानीय तहभित्रै सर्वसुलभ र गुणस्तरीय मातृ स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले आर्थिक वर्ष २०८०/८१ देखि सुरु गरिएको सेवामा प्रसूतिको संख्या वर्षेनी बढ्दै गएको अस्पतालले जनाएको छ ।
अस्पतालका अनुसार सेवा सुरु भएदेखि गत आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्म २२३ जनाको नर्मल डेलिभरी गरिएको छ । पहिलो वर्ष ७०, दोस्रो वर्ष ७२ र तेस्रो वर्ष ८१ जनाले प्रसूति सेवा लिएका छन् ।
नर्सिङ इञ्चार्ज ओमकुमारी गुरुङका अनुसार तीन वर्षमा नगर अस्पतालमा १०४ छोरा र ११९ छोरीको जन्म भएको छ । बिर्तामोडका साथै छिमेकी स्थानीय तह र अन्य जिल्लाबाट समेत सेवाग्राही प्रसूतिका लागि आउने गरेका छन् ।
अस्पतालमा हाल नर्मल डेलिभरी सेवा मात्रै उपलब्ध छ । नियमित गर्भजाँचको प्रोटोकल पूरा गर्ने सुत्केरीलाई ८ सय रुपैयाँ प्रोत्साहन रकम र १ हजार रुपैयाँ यातायात खर्च उपलब्ध गराइने गरिएको गुरुङले बताइन् ।
‘न्यानो झोला’ कार्यक्रममार्फत आमा र नवजात शिशुका लागि आवश्यक कपडासमेत प्रदान गरिएको छ । प्रसूति सेवासँगै अस्पतालले महिलाको प्रजनन स्वास्थ्यसम्बन्धी सेवा पनि विस्तार गरेको छ ।
अस्पतालका अनुसार हालसम्म ५ सयभन्दा बढी महिलाको पाठेघरको जाँच गरिएको छ भने १७२ जनाले सुरक्षित गर्भपतन सेवा लिएका छन् ।


















