झापा– साहित्य लेखन, शिक्षण र सामाजिक क्षेत्रमा सक्रिय रहेका साहित्यकार सरोज ओलीको स्मृतिमा स्मृतिग्रन्थ प्रकाशित गरिएको छ ।
प्रगतिशील लेखक सङ्घ झापाको अग्रसरता र परिवारजनको सहयोगमा प्रकाशित ग्रन्थ पाँच खण्डमा विभाजन गरिएको छ । ग्रन्थमा जीवनवृत्त, पारिवारिक, संस्मरण, समालोचना र फोटो खण्ड समेटिएका छन् । स्मृतिग्रन्थमा ओलीको जीवन, व्यक्तित्व, कृतित्व र योगदानलाई समग्ररूपमा प्रस्तुत गरिएको छ।
तेह्रथुम जिल्लाको आठराई होडा याख्या गाउँमा पिता जगतमणि ओली र माता सरस्वता ओलीको कोखबाट वि.सं. १९९८ असार २३ गते जन्मिएका उनको न्वारनको नाम नरप्रसाद ओली थियो । पछि उनी साहित्यिक जगतमा सरोज ओलीका नामले परिचित भए ।
गुरुकुलबाट अध्ययन प्रारम्भ गरेका ओलीले त्रिमोहन हाईस्कुलबाट प्रवेशिका उत्तीर्ण गरेका थिए भने महेन्द्र मोरङ कलेज, विराटनगरबाट स्नातक तह पूरा गरेका थिए । उनले आफ्नो जीवनको अधिकांश समय शिक्षा, साहित्य र समाजसेवामा समर्पित गरेका थिए ।
प्रगतिशील लेखक सङ्घमा वि.सं. २०५० को दशकदेखि नेतृत्वदायी भूमिका निर्वाह गरेका ओली प्रगतिशील साहित्यिक आन्दोलनका स्थापित व्यक्तित्वका रूपमा चिनिन्थे । साहित्य सिर्जना, संगठन निर्माण र नयाँ पुस्ताका स्रष्टालाई प्रेरित गर्न उनले उल्लेखनीय योगदान दिएका थिए ।
८३ वर्षको उमेरमा वि.सं. २०८१ कात्तिक १६ गते उनको निधन भएको थियो । प्रकाशित स्मृति ग्रन्थले उनको जीवनयात्रा, साहित्यिक योगदान र व्यक्तित्वलाई भावी पुस्तासम्म पुर्याउने विश्वास लिइएको छ ।
प्रगतिशील लेखक सङ्घ झापाका अध्यक्ष लीलाप्रसाद अधिकारी प्रधान सम्पादक रहेको स्मृति ग्रन्थमा ११९ जना लेखक, साहित्यकार, आफन्त र शुभेच्छुकले स्वर्गीय सरोज ओलीको व्यक्तित्व तथा कृतित्वमाथि प्रकाश पारेका छन । ग्रन्थको सम्पादन मण्डलमा पुण्यप्रसाद खरेल, कमल गुरागाईं, बिन्दु दाहाल र मायामितु न्यौपाने सदस्य रहेका छन ।
विद्यार्थी जीवनदेखि नै साहित्य सिर्जनामा रुचि राख्ने सरोज ओलीको पहिलो प्रकाशित रचना ‘जा’ शीर्षकको कविता हो, जुन वि.सं. २०१४ सालमा प्रोत्साहन पत्रिकामा प्रकाशित भएको थियो । त्यसयता उनले कथा, कविता, उपन्यास र निबन्धलगायत साहित्यका विविध विधामा कलम चलाउँदै नेपाली साहित्यमा विशिष्ट पहिचान बनाएका थिए ।
स्मृति ग्रन्थको पारिवारिक खण्डमा परिवारका सदस्यहरूले ओलीसँगका आत्मीय सम्झना समेटेका छन् । नातिनी शिवाङ्गी ओलीले, “बुवा हाम्रो परिवारको मुटु हुनुहुन्थ्यो, उहाँ नै त्यो डोरी हुनुहुन्थ्यो जसले हामी सबैलाई एउटै मालाजस्तै गाँसेर राख्नुभएको थियो “, भनी उल्लेख गरेकी छन् ।
अर्की नातिनी नियति ओलीले, “बुवा शिक्षक हुनुहुन्थ्यो, एक महान् गुरु जसले केवल किताबका अक्षर होइन, जीवनका मूल्य सिकाउनुहुन्थ्यो,” भन्दै उनको व्यक्तित्वको स्मरण गरेकी छन् ।
परिवारका तर्फबाट बुहारी निरु ओलीले, “बुवा जानुभयो, तर सम्झनाहरू बल्झिरहन्छन् । आखिर साथ रहने त सम्झनाहरू नै रहेछन्,” भनी भावपूर्ण अभिव्यक्ति व्यक्त गरेकी छन् ।
छोरा निरज ओलीले, “बुवा अब हामीसँग भौतिक रूपमा हुनुहुन्न, तर उहाँले दिएका आदर्श, उपदेश र माया सधैँ मेरो मन-मस्तिष्कमा जीवित रहनेछन्,” भन्दै श्रद्धाञ्जली अर्पण गरेका छन् ।
अर्का छोरा शार्दुल हाङ ओलीले पनि बुवाको जीवनदर्शन स्मरण गर्दै लेखेका छन्, “सुखमा नमात्तिने र जस्तोसुकै दुःखमा पनि नआत्तिने बुवाको स्वभावले मलाई पनि जीवन जिउन सहज बनाइरहेको छ । ”


















