२४ जेष्ठ २०८३, आइतबार | Sun Jun 7 2026

वर्ल्ड अफ डान्सको अन्तर्राष्ट्रिय मञ्चमा झापाकी समता खरेल, ‘एस स्क्वायर फ्याम’ले नेपाल चिनाउने



बिर्तामोड– झापाको बिर्तामोडकी प्रतिभाशाली नृत्याङ्गना समता खरेल आबद्ध रहेको एस स्क्वायर फ्याम (S Square Fam) ले अन्तर्राष्ट्रियस्तरको प्रतिष्ठित नृत्य प्रतियोगिता World of Dance Nepal 2026 को ग्रान्ड फिनालेमा उत्कृष्ट सफलता हासिल गरेको छ ।

ललितपुरमा सम्पन्न प्रतियोगिताको सिनियर ग्रुप (Team Division) तर्फ एस स्क्वायर फ्यामले तेस्रो स्थान हासिल गर्दै आगामी दिनमा हङकङमा आयोजना हुने वर्ल्ड अफ डान्सको अन्तर्राष्ट्रिय मञ्चमा नेपाललाई प्रतिनिधित्व गर्ने अवसर सुरक्षित गरेको टोली स्रोतले जनाएको छ । वर्ल्ड अफ डान्स विश्वका ६० भन्दा बढी देशका नर्तक र समूहहरू सहभागी हुने प्रतिष्ठित अन्तर्राष्ट्रिय नृत्य प्लेटफर्मका रूपमा परिचित छ ।

झापाको बिर्तामोडबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म आफ्नो प्रतिभा प्रस्तुत गर्दै आएकी समता खरेलका लागि यो उपलब्धि व्यक्तिगत मात्र नभई झापा जिल्लाकै गौरवको विषय बनेको छ । समता सहितको एस स्क्वायर फ्यामले प्रतियोगितामा प्रस्तुत गरेको ऊर्जा, सिर्जनशीलता, समन्वय र मञ्चीय प्रस्तुतीले निर्णायक तथा दर्शकको ध्यान आकर्षित गरेको बताइएको छ ।

यस वर्षको वर्ल्ड अफ डान्स नेपालमा देशभरका विभिन्न सहरबाट छनोट भएका उत्कृष्ट नर्तक तथा समूहबीच प्रतिस्पर्धा भएको थियो । प्रतियोगिताको ग्रान्ड फिनालेमा भारतीय चर्चित कोरियोग्राफर Terence Lewis विशेष निर्णायकका रूपमा सहभागी भएका थिए । प्रतियोगिताका विजेता तथा उत्कृष्ट टोलीहरूले अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्ने अवसर पाउने व्यवस्था रहेको आयोजकले जनाएको छ ।

बिर्तामोडका कला तथा सांस्कृतिक क्षेत्रका व्यक्तित्वहरूले समता खरेल र एस स्क्वायर फ्यामको सफलताले झापाका युवा प्रतिभालाई थप प्रेरणा दिएको बताएका छन् । सामाजिक सञ्जालमा समेत उनीहरूलाई बधाई तथा शुभकामनाको ओइरो लागेको छ ।

स्थानीयवासीका अनुसार समता र उनको टोलीले आगामी अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा समेत उत्कृष्ट प्रदर्शन गर्दै नेपालको कला, संस्कृति र प्रतिभालाई विश्वमञ्चमा स्थापित गर्ने विश्वास गरिएको छ ।

“झापाबाट विश्वमञ्चसम्म” को यात्रामा अघि बढिरहेको एस स्क्वायर फ्याम र समतालाई अहिले झापावासीले गर्वका साथ शुभकामना दिइरहेका छन् । अबको चुनौती अन्तर्राष्ट्रिय मञ्चमा नेपालको झण्डा अझ उचो बनाउने रहेको छ ।

प्रकाशित मिति : २४ जेष्ठ २०८३, आइतबार ००:००  ४ : ४४ बजे