७ जेष्ठ २०८३, बिहिबार | Fri May 22 2026

पत्रकार महासङ्घ झापाको साधारणसभा : विज्ञापन नीतिप्रति तीव्र असन्तुष्टि



झापा– नेपाल पत्रकार महासंघ झापा शाखाको वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभामा सहभागी अधिकांश वक्ताले सरकारी सूचना तथा विज्ञापन वितरण नीतिप्रति असन्तुष्टि जनाउँदै त्यसले स्थानीय सञ्चारमाध्यमलाई कमजोर बनाउने धारणा राखेका छन् ।

शाखा अध्यक्ष एकराज गिरीको अध्यक्षता तथा महासंघका कार्यवाहक अध्यक्ष दीपक आचार्यको प्रमुख आतिथ्यमा सम्पन्न सभामा वक्ताहरूले सरकारी निकायबाट सूचना र विज्ञापन केन्द्रीकृत रूपमा वितरण गर्ने प्रवृत्तिको आलोचना गरे । उनीहरूले यस्तो अभ्यासले स्थानीय मिडियालाई कुण्ठित बनाउने र सूचना पहुँचमा असमानता ल्याउने बताएका छन् ।

प्रमुख अतिथि आचार्यले सरकारी सञ्चारमाध्यमलाई मात्र प्राथमिकता दिएर सूचना प्रवाह गर्ने अभ्यासप्रति असहमति जनाउँदै त्यसलाई सुधार गर्न सरकारसँग आग्रह गरे । ‘स्थानीय तहमा निजी सञ्चारमाध्यमले विश्वसनीय सूचना प्रवाह गरिरहेका छन्’ उनले भने, ‘तर सरकारी विज्ञापनबाट वञ्चित गरिँदा पत्रकार मात्र होइन, आम नागरिक नै सूचनाबाट टाढा पर्छन् ।’

ठेक्का-पट्टासम्बन्धी सूचनामा हुने कमिशन प्रवृत्ति नियन्त्रण गर्ने प्रयास सकारात्मक भए पनि त्यसकै बहानामा स्थानीय मिडियालाई लोककल्याणकारी सूचना रोक्नु लोकतन्त्रविरोधी हुने उनले टिप्पणी गरे ।

कार्यक्रममा उपाध्यक्ष सुब्रत न्यौपानेले स्वागत मन्तव्य व्यक्त गरेका थिए । अध्यक्ष गिरीले वार्षिक गतिविधिबारे जानकारी गराउँदै वर्तमान नीतिले स्थानीय सञ्चारमाध्यमको अस्तित्वमा चुनौती थपेको बताए । सामाजिक सञ्जालमा आउने सामग्रीलाई समाचारको रूपमा नलिन आग्रह गर्दै उनले प्रमाणित र आधिकारिक सूचनाको पहिचानमा जोड दिए ।

महासंघले स्थापना गरेको ‘सहारा पत्रकार उपचार कोष’लाई दुई करोड रुपैयाँ पुर्‍याउने लक्ष्य लिइएको छ । हाल उक्त कोषमा करिब १ करोड ३२ लाख रुपैयाँ संकलन भइसकेको जानकारी दिँदै गिरीले साधारणसभामै विभिन्न दाताबाट थप सहयोग प्राप्त भएको बताए ।

सभामा कोशी प्रदेश अध्यक्ष भरत खड्का, प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल, महासङ्घका पूर्व महासचिव चन्द्र भण्डारी, पूर्व अध्यक्ष कृष्ण हुमागाईं, मोरङ अध्यक्ष सुशीला पाठक, प्रेस युनियन झापा अध्यक्ष गिरीराज भट्टराई, प्रेस चौतारी झापा अध्यक्ष प्रदीप परियार र प्रेस सेन्टर झापा अध्यक्ष पुष्प खड्कालगायतले पनि सरकारी विज्ञापन नीतिमा पुनर्विचार गर्न माग गरे ।

सो अवसरमा विभिन्न व्यक्ति तथा संस्थालाई सम्मान गरिएको थियो । भद्रपुर प्रेस क्लबलाई सम्मान गरिएको छ भने १२१ पटक रक्तदान गरेका हल्दीबारी प्रेस क्लबका अध्यक्ष नेत्रविक्रम बिमली र महासंघलाई सहयोग गरेको भन्दै शिक्षक तथा पत्रकार रञ्जित परियारलाई नगदसहित सम्मान गरिएको थियो ।

लैङ्गिक पत्रकारितामा योगदान पुर्‍याएको भन्दै गृष्मा सापकोटालाई २५ हजार रुपैयाँसहित ‘लैङ्गिक समानता पत्रकारिता पुरस्कार’ प्रदान गरिएको थियो । उक्त पुरस्कार विशेश्वर प्रसाद बजगाईं (विपीन) र विनिता-होमकला बजगाईंले स्थापना गरेका हुन् ।

त्यसैगरी महासंघद्वारा प्रकाशित ‘चौथो अङ्ग’ म्यागजिनको विमोचनसमेत गरिएको थियो । कार्यक्रममा बिर्तामोडस्थित होटल द किङ्सबरीकी कार्यकारी निर्देशक जानु धिताल र इष्ट होराइजन अंग्रेजी माध्यमिक विद्यालयलाई कदरपत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा सुरक्षा निकायका प्रमुख, सञ्चारकर्मी तथा सरोकारवालाको उल्लेख्य उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन महासंघ झापाका सचिव राजु पाठकले गरेका थिए ।

प्रकाशित मिति : २२ बैशाख २०८३, मंगलबार ००:००  ७ : ५३ बजे