२८ मंसिर २०८२, शनिबार | Sun Dec 14 2025

झापाबाट लुटिएका हतियार पाँचथरबाट बरामद



बिर्तामोड-झापाबाट लुटिएकामध्ये दुई थान हतियार प्रहरीले पाँचथरबाट बरामद गरेको छ । इलाका प्रहरी कार्यालय दमकबाट लुटिएका हतियार पाँचथरमा फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको हो ।

जेनजी आन्दोलनका क्रममा दमकबाट ती हतियार लुटिएका थिए । हतियार लुटपाटमा संलग्न व्यक्तिको खोजी गर्ने अभियान सञ्चालन गरेको प्रहरीले पाँचथर मिक्लाजुङ गाउँपालिका-३ का २२ वर्षीय सुशील लिम्बुलाई पक्राउ गरेको थियो ।

आरुबोटे लामागाउँस्थित ओढारमा लुकाएको लिम्बुको बयानका आधारमा ती हतियार बरामद भएका हुन् । प्रहरी निरीक्षक नवीन राई नेतृत्वको प्रहरी टोलीले ती हतियार बरामद गरेको हो ।

पक्राउ परेका लिम्बुलाई हात हतियार तथा खरखजना सम्बन्धी कसुरमा इलाका प्रहरी कार्यालय दमकले म्याद थप गरेको छ ।

बरामद गरिएका हतियारमा राइफल एकथान, इन्सास एक थान र त्यसमा प्रयोग हुने गोली रहेका छन् । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार लुटिएका अझै केही हतियार फिर्ता हुन बाँकी छ ।

प्रकाशित मिति : ५ मंसिर २०८२, बिहिबार ००:००  ७ : ५० बजे