२८ मंसिर २०८२, शनिबार | Sat Dec 13 2025

कनकाईमा मोटरसाइकल दुर्घटना : सिटौलाको मृत्यु



कनकाई-झापाको कनकाई नगरपालिकामा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको ज्यान गएको छ । गएराति ९:१० बजे कनकाई नगरपालिका-३ नयाँ बस्तीस्थित भित्री सडक खण्डमा दुई मोटरसाइकल ठोक्किएका थिए ।

दुर्घटनामा परी कनकाई नगरपालिका–३ बस्ने ३३ वर्षीय दिपक सिटौलाको मृत्यु भएको हो । सुरुङ्गा पुलबाट टप्पु चोकतर्फ जाँदै गरेको प्र.१–०२–०५८ प ५०६३ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको प्र.१–०१–०१५ प ४२१० नम्बरको मोटरसाइकल एकआपसमा जुधेका थिए ।

ठक्करबाट गम्भीर घाइते भएका सिटौलालाई तत्काल बीएण्डसी अस्पताल बिर्तामोड पुर्‍याइएको थियो । तर, चिकित्सकहरूले उनलाई मृत घोषणा गरे।

प्रहरीले दुर्घटनामा संलग्न दुवै मोटरसाइकल र प्र.१–०१–०१५ प ४२१० नम्बरको मोटरसाइकल चालक कनकाई नगरपालिका–६ बस्ने २३ वर्षीय नितेश बस्नेतलाई नियन्त्रणमा लिएको छ । बस्नेतलाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

मंगलबार कानुनी प्रक्रिया पूरा गरी मृतक सिटौलाको शव पोष्टमार्टमका लागि प्रादेशिक मेची अस्पताल पठाइएको छ ।

प्रकाशित मिति : २६ कार्तिक २०८२, मंगलबार ००:००  ११ : १८ बजे