२७ कार्तिक २०८२, बुधबार | Wed Nov 12 2025

एसइईमा ४ जीपीए ल्याउने वाल्मीकि एजुकेशन फाउण्डेशन सम्मानित



झापा- माध्यमिक शिक्षा परीक्षा एसइई २०८१ मा ४ जीपीए ल्याउने बाल्मीकि एजुकेशन फाउण्डेशन बिर्तामोड सम्मानित भएको छ । शिक्षा विकास तथा समन्वय इकाई झापाले एक कार्यक्रमको आयोजना गर्दै उत्कृष्ट जीपीए ल्याउने बिर्तामोड १ मा सञ्चालित वाल्मीकि एजुकेशन फाउण्डेशनलाई सम्मान गरेको हो ।

वाल्मीकी एजुकेशन फाउण्डेशनमा अध्ययनरत दुई जना विद्यार्थीले माध्यमिक शिक्षा परीक्षा एसइई २०८१ मा ४ जीपीए ल्याएका थिए । परीक्षामा सहभागीमध्ये हृदय शिवाकोटी र अंकित कटुवालले ४ जीपीए ल्याएका थिए ।

उत्कृष्ठ जीपीए ल्याउने विद्यालयलाई थप प्रोत्साहित गर्न र विद्यार्थीमा समेत प्रेरणा जगाउँदै विद्यालयले खेलेको भूमिकालाई कदर गर्दै शिक्षा विकास तथा समन्वय इकाई झापाले कदर पत्र, दोसल्ला र प्रमाणपत्रद्वारा सम्मान गरेको थियो ।

जिल्ला समन्वय समिति झापाका प्रमुख विश्वनाथ बराल तथा शिक्षा विकास तथा समन्वय इकाई झापाका प्रमुख कुमार बस्नेतले सम्मानित विद्यालयलाई कदरपत्र प्रदान गरेका थिए । सो कदरपत्र वाल्मीकि एजुकेशन फाउण्डेशनका शिक्षक कृष्णप्रसाद अधिकारीले ग्रहण गरेका थिए ।

बाल्मीकिसँगै झापाका अन्य १८ वटा विद्यालय समेत सम्मानित भएका छन् । उनीहरुले समेत एसइई परीक्षामा उत्कृट नतिजा ल्याएका थिए । झापाका ४ सामुदायिक तथा १४ संस्थागत गरी १८ विद्यालयका ३३ जनाले उत्कृष्ट जीपीए हासिल गरेको शिक्षा विकास तथा समन्वय इकाई झापाका प्रमुख कुमार बस्नेतले जानकारी दिए ।

झापाका १५ पालिकामध्ये सात पालिकाका १८ विद्यालयले उच्चतम् ४ जीपीए नतिजा हासिल गरेका थिए ।

प्रकाशित मिति : २८ आश्विन २०८२, मंगलबार ००:००  २ : ४३ बजे