काठमाडौँ– नेकपा माओवादी केन्द्रले विपद्पछिको अवस्थाबारे छलफल गर्न सचिवालय बैठक बोलाएको छ । सोमबार दिउँसो १ बजे बस्ने गरी माओवादी केन्द्रले सचिवालय बैठक बोलाएको हो ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सचिव गोविन्द आचार्यका अनुसार विपद्पछिको अवस्था बैठकको पहिलो कार्यसूचीमा छ ।
पेरिस डाँडामा बस्ने बैठकमा विपद्पछिको अवस्थाका साथै बदलिँदो पछिल्लो राजनीतिक अवस्थाका बारेमा समेत छलफल हुने जनाइएको छ ।
महाधिवेशनमा जाने निर्णय गरिसकेको नेकपा माओवादी केन्द्रले मिति तय गर्नुका साथै प्रतिनिधि छनोट कार्यालय समेत बैठकको कार्यसूचीमा राखेको छ ।
असोज ९ र १० गते काठमाडौँमा बसेको माओवादी केन्द्रको केन्द्रीय समिति बैठकले महाधिवेशन गर्ने निर्णय गर्दै केन्द्रीय समिति विघटन गरेको थियो ।
निर्णय अनुसार मंसिरको अन्तिम साताभित्र माओवादीले विशेष महाधिवेशन गर्ने तयारी गरिरहेको छ । पार्टीभित्रको आन्तरिक विवाद छताछुल्ल भइरहँदा जेनजी आन्दोलनपछि माओवादी विशेष महाधिवेशन गर्ने निष्कर्षमा पुगेको हो ।














